बैतडी –बैतडीको शिवनाथ गाउँपालिकाले वैदेशिक रोजगारीमा जान चाहने नागरिकलाई श्रम स्वीकृति दिने कार्य सुरु गरेको छ । यसअघि श्रम मन्त्रालयबाट मात्रै दिइने गरेको श्रम स्वीकृति अब स्थानीय तहबाटै प्रदान गर्न सकिने भएपछि शिवनाथ गाउँपालिकाले श्रम स्वीकृती दिन थालेको हो ।
सरकारले गएको चैत १६ गते वैशाख १ गतेदेखि लागू हुने गरेर स्थानीय तहहरुको रोजगार सेवा केन्द्रमार्फत श्रम स्वीकृति दिन सक्ने निर्णय गरेको थियो ।
सोही निर्णयका आधारमा शिवनाथ गाउँपालिकाले आज पहिलो पटक मलेसिया जान इच्छुक शिवनाथ गाउँपालिका ४ का सुरेन्द्रसिंह महतालाई श्रम स्वीकृति प्रदान गरेको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए । उनलाई पालिकाको रोजगार सेवाकेन्द्रमार्फत श्रम स्वीकृति प्रदान गरिएको हो ।
महतालाई अध्यक्ष साउँदले श्रम स्वीकृति हस्तान्तरण गरेको शिवनाथ गाउँपालिकाका प्रवक्ता केशव चन्दले बताए । दोश्रो पटक मलेसिया जाने तयारीमा रहेका महताले आफ्नै पालिकामा श्रम स्वीकृति पाएपछि खुसी लागेको बताएका छन् ।
गाउँपालिकामै श्रम स्वीकृति पाएपछि निकै सहजता भएको उनले बताए । बिना झण्झट कम खर्चमा घरदैलोको सरकारले श्रम स्वीकृति प्रदान गर्दा खुसी लागेको उनको भनाइ छ ।
वैदेशिक रोजगारीलाई व्यवस्थित र मार्यादित बनाउन स्थानीय तहबाट श्रम स्वीकृति दिने कार्य महत्वपूर्ण रहेको गाउँपालिका अध्यक्ष साउँदले बताए ।
स्थानीय नागरिकहरुलाई पालिकाबाट प्रदान गर्ने सेवालाई सहज बनाउने कार्य अन्तर्गत श्रम स्वीकृति दिने कार्य शुरु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र महताले बताए ।




