Sagun Khabar
बैतडीमा शहीद दशरथ चन्दको जन्मजयन्ती मनाइयो 

बैतडी –शहीद दशरथचन्दको जन्मभूमी बैतडीमा शहीद दशरथचन्दको १२१ औं जन्मजयन्ती मनाइएको छ ।शहीद दशरथचन्द स्मृति प्रतिष्ठानको आयोजनामा उनको जन्मघर बस्कोटस्थित शालिकमा माल्यार्पण  गरि जन्मजयन्ती मनाइएको शहीद दशरथचन्द स्मृति प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दले बताए । 

यस्तै गढीस्थित शहीद चन्दको शालिकामा पनि जन्मजयन्तीको अवसरमा माल्यार्पण गरिएको थियो । सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता रहेको थियो । 

दशरथ चन्दको जन्म वि. सं. १९६० असार १७ गते बैतडी जिल्लाको बस्कोटमा पिता शेरबहादुर चन्द र आमा पार्वती चन्दको कोखमा माइला छोराका रूपमा भएको थियो । राणाशासनका विरोधीहरूमा सबैभन्दा सशक्त व्यक्तित्व शहीद चन्दले मानविकी तथा समाजशास्त्र विषयमा वनारसबाट प्रमाणपत्र तह उत्तीर्ण गरेका थिए । 

त्यसअघि उनले नेपालगञ्ज, भारतको अल्मोडा, कुमाउँ, नैनीताल जस्ता ठाउँमा शिक्षा ग्रहण गरेका थिए । तत्कालीन राणा सरकारले वि. सं. १९९७ माघ १५ गते दशरथ चन्दलाई शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिएको थियो ।

पछिल्लो समयमा शहीद दशरथचन्द स्मृति प्रतिष्ठानले शहीद चन्दका बारेमा जानकारी दिनका लागि उनको जन्मघरलाई पाहुना घरको रुपमा विकास गरेको । अझै पनि पाहुना घरलाई व्यवस्थित बनाउनका लागि पहल भईरहेको स्मृति प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दले बताए ।
 

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update