बैतडी –लागुऔषध नियन्त्रणमा बैतडी प्रहरीले बिशेष सक्रियता अपनाएको छ । लागुऔषध दुव्र्यसनमा किशोरावस्थाका मानिसहरु बढी फसेको पाइएपछि प्रहरीले लागुऔषधविरुद्ध बिशेष अभियान सञ्चालन गरेको हो ।
जिल्ला प्रहरी कार्यालयले चालुु आर्थिक वर्षको हालसम्म लागुऔषध चरेश ओसारपसार, बिक्रि वितरण र सेवनमा संलग्न रहेका १४ जनालाई पक्राउ गरिसकेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगेश खत्रीको कमाण्डमा खटिएको प्रहरीको बिशेष अप्रेशन टोलीले उनीहरुलाई विभिन्न समयमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ परेकामध्ये १३ जनाविरुद्ध मुद्धा दर्ता गरी कारवाही र एक जना बिरुद्ध मुद्धा चलिरहेको र फैसला हुन बाँकी रहेको छ । उनीहरुको साथबाट ६ सय ६३.६७ ग्राम, चरेस बरामद गरिएको थियो ।
लागुऔषध दुव्र्यसनमा किशोरावस्थाका मानिसहरु बढी देखिएका यसलाई रोक्नका लागि बिशेष अभियान सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पनि विद्यालयहरुमा सचेतना कक्षा सञ्चालन गर्ने गरिएको उनले बताए । उनले भने ‘हामीले सचेतना कक्षा पनि सञ्चालन गरिरहेका छौं । जिल्लाभरीका विद्यालयहरुमा यो अभियान सञ्चालनमा छ ।’
लागुऔषध चरेशमात्रै नभएर अन्य खालका औषधि प्रयोग गर्नेको संख्या बढ्दै गइरहेको प्रहरी निरीक्षक जोशीले बताए । ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा लागुऔषध दुव्र्यसनीको संख्या बढीरहेको उनले बताए । धनगढी,महेन्द्रनगर लगायत क्षेत्रबाट आउनेहरु बढी दुव्र्यसनमा फसेको पाइएको प्रहरी निरीक्षक जोशीको भनाइ छ ।
लागु औषधले समाजमा नकारात्मक प्रभाव पारिरहेकाले त्यसको नियन्त्रणका लागि परिवारबाटै सचेत हुनुपर्ने प्रहरी निरीक्षक जोशीले बताए । उनले भने ‘अभिभावकहरुले आफ्ना बालबालिकाहरु के गरिरहेका छन् भन्ने बिषयमा ध्यान दिनु आवश्यक छ । उनीहरुले ध्यान नदिँदा सम्म बालबालिकाहरु कुलतमा फस्ने डर हुन्छ ।’
जिल्लाका सबैजसो विद्यालयहरुमा मातहतका प्रहरीचौकीबाट लागुऔषध दुव्र्यसन विरुद्ध सचेतनामूलक कक्षा सञ्चालन गर्ने गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले बताए । उनले भने ‘हामीले सबैजसो ठाउँमा सचेतनामूलक कक्षा सञ्चालन गरिरहेका छौं । लागुऔषध नियन्त्रणमा समुदायका सबै पात्रको सहयोग आवश्यक छ ।’
लागुऔषध नियन्त्रणका लागि विद्यालयका पाठ्यक्रममा यसका बिषयमा जानकारी राख्नुपर्ने जगन्नाथ बहुमुखी क्याम्पसका प्रमुख पृथ्वीराज अवस्थीले बताए । पाठ्यक्रममा यस्ता बिषयवस्तु राखेमा यसले पार्ने प्रभावका बारेमा बालबालिकाहरुलाई जानकारी हुने उनले बताए । उनले भने ‘लागुऔषध नियन्त्रणका लागि विद्यालय, घरपरिवार, समाज सबैले एकजुट भएर लाग्नुपर्छ । किशोरावस्थाका मानिसहरु यस्ता दुव्र्यसनमा फसेमा समाज नै समस्याग्रस्त बन्न सक्छ ।’




