Sagun Khabar
बैतडीको सुर्नयामा कुपोषित बालबालिकाका अभिभावकलाई तरकारीको बीउ र फिल्टर 

बैतडी –बैतडीको सुर्नया गाउँपालिकाले कुपोषित बालबालिकाका अभिभावकहरुलाई तरकारीको बीउ र फिल्टर वितरण गरेको छ । गाउँपालिकाले कुपोषित बालबालिका खोजी अभियान सञ्चालन गरेर कुपोषित बालबालिकाहरुको तथ्यांक संकलन गरेको थियो । 

खोजी अभियान अन्तर्गत पालिकाका ८ ओटै वडामा ५ बर्ष मुनिका १ सय ५ जना बालबालिका कुपोषित भेटिएका थिए । मध्यम र शीघ्र कुपोषण भएका बालबालिकाका अभिभावकहरुलाई व्यवहार परिवर्तनका लागि तरकारीको बीउ र फिल्टर वितरण गरिएको सुर्नया गाउँपालिकाका हेल्थ असिष्टेन्ट किरन चन्दले बताए । 

बालबालिकाहरुलाई खुवाउने पोषिलो खानेकुरा आफ्नै बारीमा उत्पादन हुने भएकाले तरकारीको बीउ वितरण गरिएको हो भने शुद्धीकरण गरेको पानीमात्रै प्रयोग गर्नुपर्छ भन्ने बानीको विकासका लागि फिल्टर वितरण गरिएको चन्दले बताए । 

मातृ तथा बालपोषण सुधारका लागि गाउँपालिकाले सञ्चालन गरेको अभियान अन्तर्गत कुपोषित बालबालिकाका अभिभावकहरुलाई तरकारीको बीउ र फिल्टर वितरण गरिएको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए । उनले भने ‘हामीले पोषणमैत्री पालिका बनाउने अभियान अन्तर्गत कुपोषित बालबालिकाहरुको खोजी गरी उनीहरुलाई सुपोषित बनाउने प्रयास गरेका छौं । यसमा अभिभावकहरुलाई व्यवहार परिवर्तनका बिषयमा जानकारी समेत दिइरहेका छौं ।’

अभिभावकहरुको व्यवहारमा परिवर्तन ल्याउन र बालबालिकाहरुलाई कुपोषण हुनबाट जोगाउन तरकारीको बीउ र फिल्टर वितरण गरिएको गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए । सुर्नया गाउँपालिकाको बार्षिक स्वीकृत कार्यक्रम अनुसार पोषणको क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिएको उनले बताए । 

पालिकाका ८ ओटै वडामा कुपोषित बालबालिकाहरुको खोजी गरी उनीहरुको पोषणस्थितीमा सुधार ल्याउनका लागि पहल भइरहेको गाउँपालिकाका प्रवक्ता प्रतापसिंह महराले बताए । 

यस्तै पालिकाभरीका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहनस्वरुप झोला वितरण गरिएको हेल्थ असिष्टेन्ट चन्दले बताए । 
 

प्रकाशित मिति: शनिबार, असार १६, २०८०  १६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update