बैतडी –सुदूरपश्चिममा रोपाइँ हुने क्षेत्रमध्ये अहिले सम्म ४० प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ । ६० प्रतिशत जग्गामा धान रोपाइँ गर्न बाँकी रहेको कृषि निर्देशनालय दिपायलले जनाएको छ । सिँचाइ सुविधा नभएका ठाउँमा रोपाइँ गर्न बाँकी रहेको हो ।
पहाडी जिल्ला बैतडी र दार्चुलामा ७० प्रतिशत बढी रोपाइँ भइसकेको भएपनि तराइका जिल्लाहरुमा रोपाइँ गर्न बाँकी रहेको कृषि निर्देशनालय दिपायलका निर्देशक यज्ञराज जोशीले बताए ।
प्रदेशमा सबैभन्दा बढी क्षेत्रफलमा धानखेती गरिने कैलालीमा २४ प्रतिशत जग्गामा मात्रै रोपाइँ हुन सकेको छ ।
सिँचाइको भरपर्दो सुविधा पाउन नसकेका धेरै किसान आकाशको पानीको भरमा धान रोपाइँ गर्ने गर्छन् । प्रदेशमा एक लाख ८१ हजार छ सय चार हेक्टर क्षेत्रफलको जग्गामा धान रोपाइँ हुन्छ । योमध्ये कैलाली जिल्लामा ७१ हजार सात सय हेक्टर र कञ्चनपुरमा ४७ हजार पाँच सय हेक्टर जग्गामा धान रोपाइँ हुने गरेको छ ।
यस्तै डोटीमा १० हजार छ सय ७०, डडेलधुरामा छ हजार एक सय ३६, अछाममा १६ हजार पाँच सय ८०, बाजुरामा तीन हजार तीन सय १०, दार्चुलामा चार हजार चार सय ८०, बैतडीमा नौ हजार र बझाङमा सात हजार एक सय १० हेक्टरमा बर्खे धान खेती हुने गरेको तथ्याङ्क कृषि निर्देशनालयसँग छ । कैलाली र कञ्चनपुर जिल्लाको केही हेक्टर क्षेत्रफलको जग्गामा चैत महिनामा रोपाइँ गरेर ‘चैते धान खेती’ पनि गर्ने गरिन्छ ।
प्रदेशमा ७३ हजार छ सय १७ हेक्टर जग्गामा वर्षभरि सिँचाइ हुने गरेकोमा ३६ हजार चार सय ८३ हेक्टर जग्गामा आंशिक सिँचाइको सुविधा रहेको तथ्याङ्क छ ।




