बैतडी–लगातारको बर्षाका कारण बैतडीका ग्रामीण कच्ची सडक अवरुद्ध भएका छन् । लगातारको बर्षाले कच्ची सडकहरुमा पहिरो खसेपछि अवरुद्ध भएका हुन् । जिल्लाका सबैजसो ग्रामीण कच्ची सडक अवरुद्ध भएका बताइएको छ ।
लगातारको बर्षाका कारण सतबाँझ –सुर्नया सडकमा सवारी साधन सञ्चालनमा कठीनाइ आएको बस चालक सुरेश बिष्टले बताए । साना जिपहरु सञ्चालनमा रहेका भएपनि बस सञ्चालनमा कठीनाइ भएको उनले बताए ।
यस्तै धर्मघर–सनशेरीमाण्डौं सडक पनि बर्षातका कारण अवरुद्ध भएको स्थानीय केशव भट्टले जानकारी दिए । उनले भने ‘बर्षातसंगै यो सडक अवरुद्ध भएको छ । सतबाँझ श्रीभावर सडकमा पनि बस सञ्चालन नहुँदा जिप व्यवसायीले मनोमानी भाडा असुल्ने गरेका छन् ।’
यस्तै पाटन–सकार–कैलपाल सडक पनि बर्षातका कारण अवरुद्ध भएको पाटन नगरपालिका स्थानीय लछीराम लुहारले बताए । लगातारको बर्षाले सडक हिलाम्य भएपछि सवारी साधन सञ्चालन हुन नसकेका उनले बताए । उनले भने ‘बर्षाका कारण सडकभरी हिलो छ । त्यसैले जिपहरु सञ्चालनमा आएका छैनन् ।’
सडक अवरुद्ध भएपछि आवतजावत गर्ने नागरिकलाई निकै समस्या भएको उनले बताए । सकार–कैलपाल जोड्ने सडक अन्तर्गत सुर्नया नदीमा विगत १० बर्षदेखि अलपत्र रहेको मोटरेबल पुलका कारण झन् समस्या भएको उनले बताए । सुर्नया नदीमा समयमै पुल नबन्दा हरेक बर्षातमा नागरिकले दुःख झेल्नुपर्ने अवस्था रही आएको उनले बताए । उनले भने ‘पुलकै कारण झन् समस्या भएको छ । सुर्नया नदीमाथि पुल नबन्दा निकै समस्या भइरहेको छ । यसका लागि पटकपटक आग्रह गर्दा समेत निर्माण गरिएको छैन् ।’
जिल्लाको सिगास गाउँपालिकाको केन्द्र जोड्ने सडक पनि बर्षातका कारण अवरुद्ध भएको छ भने चौखामदेखिको सडक पनि अवरुद्ध भएको बताइएको छ ।
यस्तै श्रीभावर –हाट सडकमा पनि सवारी साधन सञ्चालनमा निकै जोखिम रहेको स्थानीयहरुले बताएका छन् । श्रीभावर–हाट सडकलाई समयमै स्तरोन्नती नगर्दा समस्या भएको स्थानीय पुरनसिंह ऐरले बताए । बर्षातको समयमा सवारी साधन सञ्चालनमा निकै समस्या हुने गरेको उनले बताए । सडकका ठाउँठाउँमा पहिरो खसेपछि सडक सञ्चालनमा समस्या भएको उनले बताए ।
यस्तै देहीमाण्डौं–सलेना, मुस्याचोर–वसन्तपुर, गुरुखोला–कलौन लगायतका ग्रामीण सडकहरु अवरुद्ध भएका स्थानीयहरुले बताएका छन् ।




