बैतडी–बैतडीको सुर्नयामा आयोजना गरिएको गाउँपालिकास्तरीय हाजिरीजवाफ प्रतियोगितामा वासुदेव मावि लिस्किटा प्रथम भएको छ । रौलेश्वर मावि रामकी बरायलमा शुक्रबार सञ्चालन भएको प्रतियोगितामा पालिकाभित्रका १२ ओटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको थियो । सो प्रतियोगितामा लिस्किटा प्रथम भएको हो ।
कक्षा ९ र १० का विद्यार्थीहरुको सहभागितामा सञ्चालन भएको प्रतियोगितामा रौलेश्वर मावि रामकी बरायल दोश्रो, भुवनेश्वर मावि गोयली तेश्रो र शंकर संस्कृत मावि मूलखटालीले सान्त्वना स्थान प्राप्त गरेको सुर्नया गाउँपालिकाका प्राविधिक सहायक टंकप्रसाद अवस्थीले बताए ।
सुर्नया गाउँपालिका शिक्षा शाखाको आयोजनामा सञ्चालन भएको प्रतियोगिताका विजेता विद्यालयलाई पुरस्कार समेत वितरण गरिएको अवस्थीले बताए । प्रथम हुनेलाई २ हजार, दोश्रो हुनेलाई १६ सय, तेश्रो हुनेलाई १२ सय र सान्त्वना स्थान प्राप्त गर्ने विद्यालयलाई ८ सय नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ ।
सो कार्यक्रममा सुर्नया गाउँपालिकाका उपाध्यक्ष मञ्जु बोहरा, सामाजिक विकास समितिका संयोजक केशव बिष्ट, सुर्नया गाउँपालिकाका शिक्षा अधिकृत हिमांशु भट्ट, प्राविधिक सहायक टंकप्रसाद अवस्थी लगायतको सहभागिता रहेको थियो ।
अतिरिक्त क्रियाकलापमार्फत बालबालिकाहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरिएको सुर्नया गाउँपालिकाले जनाएको छ ।




