Sagun Khabar
पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग एकतर्फी सुचारु 
फाइल फोटो

बैतडी –पहिरोका कारण अवरुद्ध भएको जयपृथ्वी राजमार्ग सुचारु भएको छ । सो राजमार्ग अन्तर्गत बैतडीको सुर्नया गाउँपालिका वडा नं ८ आलुगैरामा गएराति पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । 

पहिरो पन्छ्याएपछि एकतर्फी रुपमा सडक सुचारु भइसकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । सडक दुईतर्फी सञ्चालनका लागि पहिरो पन्छ्याउने काम भइरहेको उनले बताए । 

एकतर्फी रुपमा सडक सुचारु भएपछि बझाङ जाने र बझाङबाट अन्य जिल्लाका लागि छुटेका सवारी साधन तथा यात्रुहरु गन्तव्यतर्फ लागेका छन् । 

बर्षातको समयमा पहिरोका कारण बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग बेलाबेलामा अवरुद्ध हुने गरेको छ ।  
 

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  ११:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update