बैतडी –बैतडीमा ७० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । असार १० गते सम्मको तथ्यांक अनुुसार जिल्लामा ७० प्रतिशत रोपाइँ सम्पन्न भएको हो । कृषि ज्ञानेकन्द्र बैतडीले सिँचाइको सुविधा भएको ठाउँमा रोपाइँ सम्पन्न भइसकेको बताएको छ ।
जिल्लाका १० ओटै स्थानीय तहक रोपाइँ हुने र सिँचाइ सुविधा भएका ठाउँमा रोपाइँ सम्पन्न भइसकेको कृषि ज्ञान केन्द्र बैतडीका कृषि प्रसार अधिकृत नरेन्द्रबहादुर चन्दले बताए । उनले भने ‘अहिले सम्म जिल्लाभरी ७० प्रतिशत रोपाइँ सम्पन्न भइसकेको जानकारी आएको छ ।’
बैतडीमा जेठको अन्तिम सातादेखि रोपाइँ गर्न शुरु गरिएको र असारभित्रै रोपाइँ सकिने चन्दले बताए । आकाशे पानीको भरमा रोपाइँ हुने ठाउँमा बर्षा शुरु भएसंगै रोपाइँको चटारो बढेको उनले बताए ।
बैतडीमा ९ हजार हेक्टर जमीनमा धानखेती हुने गरेको छ । धानखेती हुने क्षेत्रमध्ये ४० प्रतिशतमा मात्रै सिँचाइ सुविधा रहेको छ । सिँचाइ सुविधा नभएका ठाउँमा आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने बाध्यता रही आएको पाटन नगरपालिका ३ का भीमदत्त भट्टले बताए । सरकारले कृषि क्षेत्रलाई प्राथमिकता नदिँदा किसानहरु पलायन हुने अवस्था सिर्जना भएको उनले बताए ।
जिल्लाको पाटन नगरपालिका क्षेत्रको पाटन सेरा, डिलाशैनीको गोकुलेश्वर क्षेत्र, सिगासको ढुंगाड क्षेत्र, मेलौलीको सलेना, पञ्चेश्वरको महाकालीसंग जोडिएको क्षेत्र, दशरथचन्द नगरपालिकाको महाकालीसंग जोडिएको क्षेत्र, सुर्नयाको सुर्नया नदीसंग जोडिएको क्षेत्रलाई धान पकेट क्षेत्रका रुपमा लिने गरिएको छ ।
बैतडीमा पछिल्लो समयमा धान रोपाइँका लागि आधुनिक कृषि उपकरणको प्रयोग गर्ने गरिएको भएपनि धेरै ठाउँमा गोरुले जोत्ने गरिन्छ । तर यो बर्ष जिल्लाका धेरै ठाउँमा लम्पी स्कीन रोगबाट गोरुहरु प्रभावित भएकाले किसानहरुलाई धान रोपाइँ गर्न समस्या भएको छ ।
बैतडीमा ९ हजार हेक्टरमा झण्डै १८ हजार मेट्रिक टन धान उत्पादन हुने गरेको छ ।




