बैतडी –बैतडीमा लैंगिक हिंसा प्रभावितहरुका लागि एकदिने मानसिक स्वास्थ्य शिविर सम्पन्न भएको छ । जिल्ला अस्पताल बैतडीमा बिहीबार शिविर सञ्चालन गरिएको हो ।
जिल्ला अस्पतालमा सञ्चालनमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी)बाट सेवा लिएका लैंगिक हिंसा प्रभावितहरुका लागि मानसिक स्वास्थ्य शिविर सञ्चालन गरिएको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका कार्यक्रम संयोजक खगेन्द्र भट्टले बताए ।
संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए), नर्वेजीयन दूतावास,स्वीस सरकार विकास सहयोग, आइपास र सीएमसीको सहयोगमा जिल्ला अस्पतालले एकद्वार संकट व्यवस्थापन केन्द्र सञ्चालन गरिरहेको छ । सो केन्द्रमा सेवा लिन आएका मध्ये मानसिक समस्या भएकाहरुलाई लक्षित गरेर शिविरको आयोजना गरिएको हो ।
शिविरबाट २२ जनाले सेवा लिएका भट्टले बताए । मानसिक रोग बिशेषज्ञ डा.रविन्द्रप्रसाद ठाकुरले शिविरमा आएकाहरुको मानसिक स्वास्थ्य चेकजाँच गर्नुका साथै मनोपरामर्श प्रदान गरेका थिए ।
हिंसा प्रभावितहरुमा मानसिक समस्या समेत देखिन थालेकाले शिविरको आयोजना गरिएको हो । एकद्वार संकट व्यवस्थापन केन्द्रमार्फत ३÷३ महिना यस्तो शिविर सञ्चालन गर्ने गरिएको कार्यक्रम संयोजक भट्टले बताए ।
लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना अन्तर्गत शिविर सञ्चालन गरिएको हो । मानसिक समस्या जनस्वास्थ्यको प्रमुख समस्याको रुपमा देखा परेको र हिंसा प्रभावितहरु यस्तो समस्याबाट झन् पीडित हुने भएकाले शिविरमार्फत सेवा दिने गरिएको भट्टले बताए ।
लैंगिक हिंसा प्रभावितहरुलाई एकद्वार संकट व्यवस्थापन केन्द्रमार्फत एकीकृत सेवा प्रदान हुँदै आएको छ । जिल्ला अस्पातलमा सञ्चालनमा रहेको केन्द्रबाट हिंसा प्रभावितहरुले सेवा लिइरहेका छन् । उनीहरुलाई आवश्यकता अनुसार निशुल्क रुपमा कानुनी सेवा समेत प्रदान हुँदै आएको छ ।
एकद्वार संकट व्यवस्थापन केन्द्रमार्फत हिंसा प्रभावितहरुलाई स्वास्थ्य सेवासहित अन्य सेवाहरु एकीकृत रुपमा प्रदान भइरहेको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. दिपेश श्रेष्ठले बताए ।




