Sagun Khabar
मेलौलीमा कक्षा ८ मा उत्कृष्ट हुने विद्यार्थीलाई प्रोत्साहन 

बैतडी –बैतडीको मेलौली नगरपालिकाले नगरस्तरीय कक्षा ८ को बोर्ड परीक्षामा उत्कृष्ट अंक ल्याउने तीन जना विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप नगद पुरस्कारसहित सम्मान गरेको छ । 

विद्यार्थीहरुलाई पठनपाठन कार्यमा सक्रिय बनाउने उद्देश्यसहित नगरपालिकाले विद्यार्थीहरुलाई प्रोत्साहन गर्ने नीति ल्याएको नगरपालिकाकी शिक्षा अधिकृत मनु क्षेत्रीले बताइन् । २०७९को नगरस्तरीय बोर्ड परीक्षामा उत्कृष्ट अंक ल्याएका तीनजनालाई प्रोत्साहन स्वरुप नगदसहित प्रमाणपत्र दिएर सम्मान गरिएको उनले बताइन् । 

‘विद्यार्थी प्रोत्साहन कार्यक्रम’कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको हो । प्रोत्साहन कार्यक्रम अन्तर्गत सागर नेगी, प्रशान्तसिंह बिष्ट र पवन जोशीलाई नगदसहित सम्मान गरिएको हो । 

प्रथम हुनेलाई नगद १० हजारसहित प्रमाणपत्र, द्वितीय हुनेलाई नगद ७ हजारसहित प्रमाणपत्र र तृतीय हुनेलाई नगद ५ हजारसहित प्रमाणपत्र प्रदान गरिएको मेलौली नगरपालिकाले जनाएको छ । 

प्रोत्साहन कार्यक्रम अन्तर्गत शितलपुर माविमा अध्ययनरत दुई जना र दुर्गा मावि खलिगाडमा अध्ययनरत एकजना पुरस्कृत भएका शिक्षा शाखा प्रमुख क्षेत्रीले बताइन् । 

विद्यार्थी प्रोत्साहन कार्यक्रममा मेलौली नगरपालिकाका प्रमुख भीमबहादुर चन्द, उपप्रमुख पार्वती बोहरा बिष्ट, शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख नरेन्द्रप्रसाद अवस्थी, मेलौली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सपना कार्की लगायतको उपस्थिती रहेको थियो । 

विद्यार्थी प्रोत्साहन कार्यक्रमले बालबालिकाहरुलाई आफ्नो शैक्षिक गुणस्तर सुधारमा सहयोग गर्ने अपेक्षा लिइएको छ । यो कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिइने नगर प्रमुख चन्दले बताए । 

यसैबीच मेलौली नगरपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसंग सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारसम्बन्धी अन्तरक्रिया सम्पन्न गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्रप्रसाद अवस्थीको उपस्थितीमा अन्तरक्रिया सम्पन्न गरिएको हो । 
 

प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  ०७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update