बैतडी –बैतडीको पाटन नगरपालिकाले लक्षित वर्गका लागि व्यवसायिक योजना तयारी तथा क्षमता विकास तालिम सञ्चालन गरेको छ । नगरपालिकाका १० ओटै वडामा रहेका दलित समुदायका नागरिकलाई लक्षित गरेर व्यवसायिक योजना तयारी तथा क्षमता विकास तालिम सञ्चालन गरेको नगरपालिकाका कृषि शाखा प्रमुख महेश अवस्थीले बताए ।
पाटनमा सञ्चालन भइरहेको तालिममा प्रत्येक वडाबाट सात जनाका दरले तालिमका सहभागीहरु समावेश गरिएको छ । दलित समुदायका नागरिकहरुको क्षमता अभिवृद्धि गरी उनीहरुको व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।
चार दिन सम्म सञ्चालन हुने तालिमपछि प्रत्येक सहभागीहरुले बनाएको व्यवसायिक योजना अनुसार बीउ पूँजी अनुदान दिइने कृषि शाखा प्रमुख अवस्थीले बताए । प्रति सहभागी १२ हजारका दरले अनुदान दिइने उनले बताए ।
तालिममा सहभागीहरुले तालिममै आफ्नो व्यवसायिक योजना बनाउने र उनीहरुको व्यवसायलाई टेवा पुर्याउन अनुदान दिइने अवस्थीले बताए । यसका लागि व्यवसाय सञ्चालन गर्ने व्यक्ति र नगरपालिकाबीच सम्झौता हुनेछ ।
सम्झौता अनुसार लाभाग्राहीको खातामा अनुदान रकम जमा गर्ने र व्यवसायिक योजना अनुसार व्यवसाय गरे÷नगरेको अनुगमन गरिने पाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए ।
लक्षित वर्गका नागरिकलाई उद्यम गर्न सहज होस् भनेर अनुदान दिन लागिएको उनले बताए । तर अनुदानको दुरुपयोग नहोस भन्नेतर्फ पनि नगरपालिका सचेत रहेको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए ।
नगरपालिकाले सञ्चालन गरेको तालिम र प्रदान गर्ने अनुदानले लक्षित वर्गका नागरिकलाई आफ्नो उद्यम अगाडि बढाउन सहज हुने पाटन नगरपालिकाका पूर्व उपप्रमुख सरस्वती कोलीले बताइन् । समान्य पूँजीको अभावमा आफ्नो उद्यम÷व्यवसाय सञ्चालन गर्न नसक्ने नागरिकका लागि यो अनुदानले सहयोग पुग्ने उनको भनाइ छ । नगरपालिकाबाट प्राप्त अनुदान सदुपयोग गर्नुपर्नेमा उनले जोड दिइन् ।
लक्षित समुदायका नागरिकलाई आफ्नै ठाउँमा व्यवसाय गर्न सहज होस भनेर तालिम र अनुदानको कार्यक्रम सञ्चालन गरिएको नगर उपप्रमुख कमलसिंह बोहराले बताए । उनले भने ‘हामीले लक्षित समुदायका लागि आएको रकमको सही सदुपयोग होस भनेर व्यवसायिक योजनासहित अनुदान दिने भनेका छौं । यो रकमको सदुपयोग गर्नेतर्फ सबै लाग्नुपर्छ ।’
लक्षित समुदायका लागि सञ्चालन भएको उद्यम विकास तालिमले लक्षित समुदायका नागरिकलाई आफ्नो व्यवसाय सञ्चालनमा टेवा पुग्ने नगर प्रमुख गौरीसिंह रावलले बताए ।




