Sagun Khabar
बैतडीका स्थानीय तहहरुले जिल्ला विपद व्यवस्थापन समितिलाई बुझाएनन् योजना 

बैतडी – जिल्ला विपद व्यवस्थापन समितिले स्थानीय तहहरुलाई विपद् व्यवस्थापन योजना बुझाउन आग्रह गरेको महिना हुन लाग्दा समेत बुझाएका छैनन् । गएको जेठ २१ गते बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकले स्थानीय तहहरुलाई १५ दिनभित्र योजना बुझाउन आग्रह गरेको थियो । 

स्थानीय तहहरुमा विपद पूर्वतयारी,अहिले सम्म विपदका घटनाले निम्त्याएको क्षति, राहत र उद्धारका सामग्री लगायतको अवस्थाका बारेमा जानकारी मागिएको भएपनि अहिले सम्म कुनै पनि तहले योजना नबुझाएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी शंकरबहादुर बोहराले बताए । 

जिल्लाको मेलौली नगरपालिकाले मात्रै योजना बुझाएको भएपनि त्यो पनि जिल्ला विपद् व्यवस्थापन समितिले मागेको फरम्याटमा नभएको सूचना अधिकारी बोहराले बताए । 

स्थानीय तहहरुले विपद् व्यवस्थापन योजना समयमा नबुझाउँदा जिल्ला विपद पूर्वतयारी तथा प्रतिकार्य योजना अद्यावधिक गर्न समेत समस्या भएको छ । सो योजनामा जिल्लाभरीको अवस्था बिश्लेषण गर्नुपर्ने भएकाले पालिकाहरुले योजना नबुझाउँदा समस्या अद्यावधिक गर्न समस्या भइरहेको सूचना अधिकारी बोहराले बताए । उनले भने ‘पालिकाहरुले समयमा योजना नबुझाउँदा जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अद्यावधिक गर्न सकिएको छैन् । स्थानीय तहहरुलाई योजना बुझाउन ताकेता गरिरहेका छौं ।’

आफ्नो क्षेत्रभित्र विपदका घटनाहरुलाई न्यूनीकरण गर्न प्रत्येक स्थानीय तहहरुले विपद व्यवस्थापन योजना बनाउनुपर्ने भएपनि विपद् व्यवस्थापनमा स्थानीय तहहरुको ध्यान जान सकेको छैन् । विपद व्यवस्थापन योजना निर्माण र अद्यावधिक गर्ने तर्फ पालिकाहरुले ध्यान नदिँदा विपदका घटनाहरु हुँदा समस्या हुने गरेको छ । 
 

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १४:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update