बैतडी –चारओटा नगरपालिका र ६ ओटा गाउँपालिका गरी १० ओटा स्थानीय तह रहेको बैतडीमा ९ओटा स्थानीय तहहरुले आगामी आर्थिक बर्षका लागि बजेट ल्याएका छन् । जिल्लाको डिलाशैनी गाउँपालिका बाहेक सबै स्थानीय तहहरुले आगामी आर्थिक २०८०÷८१ को बजेट ल्याएका हुन् ।
डिलाशैनी गाउँपालिकाले नीति तथा कार्यक्रम सभामा पेश गरेको असार १५ गते बजेट ल्याउने तयारी गरेको गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले जानकारी दिए । क्षेत्रगत हिसाबले बाँडफाँड गर्नुपर्ने बाँकी रहेकाले आइतबार सभामा बजेट पेश नगरिएको उनले बताए ।
जिल्लाको दशरथचन्द नगरपालिकाले ८२ करोड १७ लाख ३८ हजार बराबरको बजेट ल्याएको छ भने पाटन नगरपालिकाले ६३ करोड ५३ लाख ६२ हजार २१० रुपैंया बराबरको बजेट ल्याएको छ । यस्तै जिल्लाको पुर्चौंडी नगरपालिकाले ६४ करोड ५४ लाख ११ हजार बराबरको बजेट ल्याएको छ भने मेलौली नगरपालिकाले ४९ करोड बराबरको बजेट ल्याएको छ ।
जिल्लाको दोगडाकेदार गाउँपालिकाले ५१ करोड ४४ लाख ४० हजार ४ सय बराबरको बजेट ल्याएको छ भने सुर्नया गाउँपालिकाले ४२ करोड ८ लाख ४२ हजार बराबरको बजेट ल्याएको छ ।
सिगास गाउँपालिकाले ४३ करोड ८२ लाख ३१ हजार ८ सय, पञ्चेश्वर गाउँपालिकाले ३८ करोड ७३ लाख ७२ हजार २ सय र शिवनाथ गाउँपालिकाले ३६ करोड ३४ लाख ६७ हजार ९ सय बराबरको बजेट ल्याएका छन् ।
बजेट ल्याएका कतिपय स्थानीय तहहरुले क्षेत्रगत रुपमा बजेट बाँडफाँड गरिसकेका छन् भने केही स्थानीय तहहरुले डल्लो बजेट ल्याएर असार २५ गतेभित्र बाँडफाँड गरिसक्ने बताएका छन् ।




