बैतडी- बैतडीको मेलौली र पाटनमा बजार अनुगमन गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय बैतडीको आयोजना तथा जिल्ला प्रशासन र प्रहरीको सहयोगमा जिल्लाका विभिन्न बजारमा शनिबार अनुगमन गरिएको हो ।
जिल्लाको मेलौली नगरपालिका ७ काँडाबजार, सलेना बजार र पाटन नगरपालिका४ को ठाँड बजारमा अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालय बैतडीका सूचना अधिकारी लक्ष्मण साउँदले जानकारी दिए । घरेलु तथा साना उद्योग कार्यालय बैतडीको आयोजना तथा जिल्ला प्रशासन र प्रहरीको सहयोगमा बजार अनुगमन गरिएका उनले बताए ।
अखाद्य वस्तुको विक्रि वितरणमा रोक लगाउन,उपभोक्ताहरुलाई सचेत बनाएर कालोबजारी नियन्त्रण गर्ने उद्देश्यले बजार अनुगमन गरिएको सूचना अधिकारी साउँदले बताए । ३६ ओटा पसलमा अनुगमन गरिएको बताइएको छ । दुई पसलबाट जरिवाना असुल गरिएको छ ।
बजार अनुगमनका क्रममा भेटिएका म्याद गुज्रेका अखाद्य वस्तुहरु बरामद गरि नष्ट गरिएका जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शंकर बहादुर बोहराले बताए । पछिल्लो समयको बजार अनुगमनले केहि सुधार भएको समेत उनले बताए ।बजार अनुगमन गर्न जाँदा व्यापारीहरु जरिवाना लिन्छन् भनेर म्याद नाघेको समान भित्र लुकाउने गरेको पाइएको अनुगमन टोलीको भनाई छ ।
पछिल्लो समय सरोकारवाला निकायले अखाद्य वस्तुको विक्रि वितरणमा रोक लगाउन अनुगमन गर्ने गरेका छन् । घरेलु र प्रशासन कार्यालयले बजार अनुगमन गर्ने गरेका भएपनि यहाँका स्थानीयतहरुले ध्यान दिने गरेका छैनन् ।




