बैतडी –बैतडीका ८ ओटा स्थानीय तहहरुले आज आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउँदैछन् । स्थानीय सरकार सञ्चालन ऐन अनुसार पालिकाहरुले हरेक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजश्व र व्ययको अनुमान गाउँ वा नगरसभामा पेस गर्नुपर्छ । बैतडीका २ ओटा पालिकाले यसअघि नै सभामा नीति तथा कार्यक्रम र बजेट पेश गरिसकेका छन् ।
जिल्लाको सुर्नया गाउँपालिका र मेलौली नगरपालिकाले शनिबार नीति तथा कार्यक्रम र बजेट सभामा पेश गरेका हुन् ।
जिल्लाको दशरथचन्द नगरपालिकाले नगरसभामा आज नीति तथा कार्यक्रम र बजेट पेश गर्ने तयारी गरेको नगरपालिकाका सूचना अधिकारी राजबहादुर बिष्टले बताए । यस्तै पाटन नगरपालिकाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट आज ल्याउने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिए ।
यस्तै जिल्लाको पुर्चौंडी नगरपालिकाले आज आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट सभामा पेश गर्ने तयारी गरेको नगर प्रमुख दिपकबहादुर बमले बताए । यस्तै डिलाशैनी गाउँपालिकाले पनि आजै नीति तथा कार्यक्रम र बजेट सभामा पेश गर्ने तयारी गरेको गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताए ।
जिल्लाको दोगडाकेदार गाउँपालिकाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट गाउँसभामा आज पेश गर्ने गाउँपालिकाका प्रवक्ता दिनेश भट्टले बताए । यस्तै शिवनाथ गाउँपालिकाले पनि आजै नीति तथा कार्यक्रम र बजेट सभामा पेश गर्ने गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिए ।
जिल्लाको सिगास र पञ्चेश्वर गाउँपालिकाले पनि आजै सभामा नीति तथा कार्यक्रम र बजेट पेश गर्ने तयारी गरेका छन् ।




