बैतडी –बैतडीको सुर्नया गाउँपालिकाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शनिबार गाउँपालिकाको गाउँसभामा उपाध्यक्ष मञ्जु महरा बोहराले नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् ।
आगामी आर्थिक बर्षमा पालिकाभरी सञ्चालन गरिने कार्यक्रमहरुलाई समेटेर पालिकाको नीति तथा कार्यक्रम ल्याइएको हो । गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपाध्यक्ष बोहराले सुर्नया गाउँपालिकाको समग्र विकासका लागि गाउँपालिकाले पहल गर्ने बताइन् ।
गाउँपालिकाले ल्याएको नीति तथा कार्यक्रममा औद्योगिक ग्राम स्थापनादेखि नमूना विद्यालय घोषणा कार्यक्रम समेटिएका छन् ।
यस्तै उत्कृष्ट शिक्षक घोषणा, कक्षा ८को परीक्षमा उत्कृष्ट भएका छात्रछात्राहरुलाई पुरस्कार व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यस्तै पूर्ण संस्थागत सुत्केरी पालिका घोषणाका लागि पहल गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यसका लागि पालिकाभित्र रहेका बर्थिङ सेन्टरहरुको स्तरोन्नती गर्ने कुरा उल्लेख गरिएको छ ।
यस्तै सुत्केरी तथा दुर्घटना परेकाहरुलाई नजिकको अस्पतालसम्म निशुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिइएको छ । यस्तै किशोरीहरुको क्षमता अभिवृद्धिका लागि आत्म रक्षा तालिम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको गाउँपालिकाले एकल महिलासंग उपाध्यक्ष कार्यक्रम पनि सञ्चालन गर्ने नीति ल्याएको छ ।
यस्तै विद्युत महसुल बुझाउन पालिकाबासीलाई अप्ठ्यारो भन्दै विद्युतको महसुल संकलन काउन्टर स्थापनाका लागि पहल गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यस्तै पालिकाभित्रको धार्मिक पर्यटन प्रवद्र्धनका लागि रौलाकेदार, गोफा केदार र पातालभुवनेश्वर धामको गुरुयोजना निर्माण गरिने उल्लेख गरिएको छ ।
यस्तै वडा कार्यालयका भवन नभएका वडाहरुमा भवन निर्माण गर्ने, लिफ्ट सिँचाइ योजनाहरु बनाउने, अधुरा र क्रमागत योजनाहरुलाई पूर्णता दिने, साना जलविद्युत आयोजना निर्माण गर्ने कुरा नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
यस्तै एक घर एक फलफूल विरुवा अभियान सञ्चालन गर्नुका साथै ५ बर्षभित्र पालिकालाई धुँवारहित पालिका घोषणाका लागि पहल गरिने उल्लेख गरिएको छ ।
यस्तै पालिकाको आन्तरिक आय वृद्धिका लागि करदाता साक्षरता कार्यक्रम सञ्चालन गर्नुका साथै करको दायरा बाहिर रहेकाहरुलाई करको दायरमा ल्याउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यस्तै पालिकाको बेरुजुलाई फच्र्यौट गर्नका लागि पहल गरिने उल्लेख गरिएको छ ।
यस्तै गाउँपालिकामा सूचना, प्रविधिका कार्यक्रमलाई प्राथमिकता दिइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
सुर्नया गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ४२ करोड ८ लाख ४२ हजार बराबरको बजेट ल्याएको छ । समानीकरण अनुदान, राजस्व बाँडफाँड, सशर्त अनुदान र आन्तरिक आम्दानी समेत जोडेर बजेट ल्याइएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरको अध्यक्षतामा भएको गाउँसभा १३ औं अधिवेशनमा सभा सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत लगायतको उपस्थिती रहेको थियो ।




