बैतडी –मनसुन सक्रिय भएसंगै बैतडीका विभिन्न स्थानमा पहिरोले क्षति पुर्याउन थालेको छ । मनुसुनी बर्षा शुरु भएसंगै पहिरोका कारण सडक, विद्यालय लगायतका संरचनाहरुमा क्षति पुग्न लागेको हो ।
पहिरोकै कारण जिल्लाको सिगास गाउँपालिका ८स्थित लेक लुपुड माविको भवन जोखिममा परेको छ । शनिबार बिहान विद्यालय भवनको तल र माथि दुवैतिरबाट पहिरो खसेपछि विद्यालय भवन जोखिममा परेको हो । विद्यालयका दुईओटा भवन पहिरोले भत्किने सम्भावना रहेको विद्यालयका प्रधानाध्यापक हर्कबहादुर धामीले बताए ।
७२ ÷७२ लाखको लागतमा निर्माण भएका विद्यालयका दुईओटा भवन पहिरोको जोखिममा परेका विद्यालयका प्रधानाध्यापक धामीले बताए । पहिरोका कारण कक्षा सञ्चालनमै समस्या आउने उनले बताए । उनले भने ‘विद्यालयका दुईओटा भवन मध्ये दुवै पहिरोको जोखिममा परेका छन् । भोलिदेखि नै बालबालिकाहरुलाई कहाँ राखेर पढाउने भन्ने चिन्ता थपिएको छ ।’
नयाँ भवन निर्माण कार्य सम्पन्न भएर पेन्टिङको काम भइरहेको छ भने गत बर्ष निर्माण भएको भवनमा पठनपाठन हुने गरेको छ । गत बर्ष बनेको भवनको तलतिर र नयाँ भवनको माथिबाट पहिरो खसेपछि विद्यालय भवन जोखिममा परेका हुन् ।
कक्षा १२ सम्मको पढाई हुने सो विद्यालयमा साढे ३ सय विद्यार्थी अध्ययनरत रहेका छन् । पहिरोले विद्यालयमा लाखौं क्षति पुर्याउने सम्भावना बढेको विद्यालयका प्रधानाध्यापक धामीले बताए । बर्षातको शुरुमै पहिरो खसेकाले बर्षा बढेमा भवन नै असुरक्षित हुने उनले बताए ।




