बैतडी – सुदूरपश्चिमका पहाडी जिल्लाका मुख्य राजमार्गहरुमा खाल्डाखुल्डी हुँदा सवारी साधन सञ्चालनमा समस्या रहेको छ । यहाँका राजमार्गहरुमा जताततै खाल्डाखुल्डी हुँदा यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।
हिउँदमा धुलाम्य र बर्षातमा हिलाम्य सडकमा कष्टकर यात्रा गर्नुपर्ने अवस्था रही आएको पाटन नगरपालिका ६ का दिनेश बिष्टले बताए । राजमार्ग विस्तार तथा घुम्ती सुधारका नाममा महिनौंदेखि सडकमा काम भइरहेकाले पनि समस्या भएको छ । घुम्ती सुधारका नाममा काटिएका सडकहरु बर्षातको समयमा हिलाम्य हुँदा सवारी साधन सञ्चालनमा निकै समस्या रहेको उनले बताए ।
पक्की सडकहरु पनि कच्ची जस्तै भएकाले जोखिमपूर्ण यात्रा गर्नुपरीरहेको पाटन १० का भुपेन्द्रप्रसाद पन्तले बताए । मोटरसाइकल चालकहरुले झन् समस्या हुने गरेको उनले बताए । पक्की सडक नै हिलाम्य हुँदा निकै समस्या हुने गरेको उनको भनाइ छ ।
सुदूरपश्चिमका पहाडी जिल्लामा भीमदत्त, केआइसिंह, दशरथचन्द, महाकाली, जयपृथ्वी राजमार्ग मुख्य राजमार्ग हुन् । यी राजमार्गहरुका ठाउँठाउँमा खाल्डाखुल्डी हुँदा निकै समस्या हुने गरेको यात्रुहरुले बताएका छन् ।
सडकको दूरावस्थाका कारण सवारीसाधन चलाउनै मुस्किल भइरहेको सवारी चालकले बताएका छन् । सडकमा भएका खाल्डाखुल्डीका कारण जोखिम मोलेर सवारीसाधन चलाउनुपर्ने अवस्था रहेको बस चालक सुरेश बिष्टले बताए । साना तथा ठूला सवारीसाधनको चाप बढ्दा जोखिम मोलेर सवारी चलाउनुपर्ने बाध्यता रहेको उनले बताए । मुख्य राजमार्गहरु कच्ची सडक जस्ता भएका उनले बताए ।
सडक विस्तार र मोड सुधारको काम समयमा नहुँदा मुख्य सडकहरुमा सवारी साधन सञ्चालनमा समस्या रहेको चालकहरुको भनाइ छ । मोड सुधार गरेका ठाउँमा माथिबाट पहिरो खस्ने भएकाले झन् समस्या हुने गरेको ट्रक चालक प्रकाश भट्टले बताए । उनले भने ‘ठाउँठाउँमा हिलाम्य सडक हुँदा निकै सास्ती भएको छ । मुख्य सडकहरु नै कच्ची जस्ता भएका छन् ।’
बर्षातको समयमा आउने पहिरोका कारण सडक अवरुद्ध भएमा तत्काल पहिरो पन्छ्याउने गरिएको सडक डिभिजन कार्यालय पाटन बैतडीका इन्जिनियर मुकेन्द्रविक्रम मल्लले बताए । उनले भने ‘सडकमा पहिरो आएमा तत्काल पन्छ्याउने व्यवस्था गरिएको छ । सडक भत्किएको ठाउँमा मर्मत गर्ने गरिएको छ ।’
बजेटको अभावमा एकैपटक मोड सुधार र सडक विस्तारको काम गर्न समस्या हुने गरेको इन्जिनियर मल्लले बताए ।





