बैतडी –नेपाल शिक्षक संघ बैतडीका पूर्व अध्यक्ष कृष्णदत्त पन्तको निधन भएको छ । लामो समय बैतडीमा शिक्षण पेशामा बिताएका पन्त पछिल्लो समय कञ्चनपुरको भीमदत्त नगरपालिका १८ कटानमा बस्दै आएका थिए ।
बैतडीको मेलौली नगरपालिका ५ पुख्र्यौली घर भएका पन्तले शिक्षा क्षेत्रमा ठूलो योगदान गरेको स्थानीयहरुले बताएका छन् । ४० बर्षसम्म शिक्षण पेशामा आवद्ध रहेका पन्त नेपाल शिक्षक संघको केन्द्रीय सदस्य समेत बनेका थिए ।
दुर्गा मावि खलीगाडमा प्रधानाध्यापक जिम्मेवारी सम्हालेका बेला उनी सेवा निवृत भएका थिए । शिक्षण पेशाबाट सेवा निवृत भएपछि पन्त सामाजिक तथा राजनीतिक क्षेत्रमा क्रियाशील रहँदै आएका थिए ।
पन्तको निधनले नेपाली कांग्रेसले एक बौद्धिक र क्रियाशील व्यक्तित्व गुमाएको नेपाली कांग्रेस बैतडीका सचिव प्रेमबहादुर चन्दले बताए । तल्लोस्वराड क्षेत्रको मूर्धन्य शैक्षिक व्यक्तित्व अस्ताएको उनले बताए ।
बिहीबार निधन भएका पन्तको शुक्रबार अन्त्येष्टी गरिएको थियो । अन्त्येष्टी गर्नु अघि पन्तको पार्थिव शरीरमा नेपाली कांग्रेसको झण्डा ओढाई सम्मान व्यक्त गरिएको थियो । पन्तको पार्थिव शरीरमा नेपाली कांग्रेस बैतडीका सदस्य राजेन्द्रप्रसाद कलौनी, महाधिवेशन प्रतिनिधि दिनेशबहादुर चन्द,नेपाली कांग्रेसका कञ्चनपुर सभापति एवं भीमदत्त नगरपालिकाका प्रमुख पदम बोगटी, भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखकले पार्टीको झण्डा ओढाई सम्मान व्यक्त गरेका थिए ।




