बैतडी –बैतडीमा लम्पी स्कीन महामारीको रुपमा फैलिएको छ । लम्पी स्कीनको संक्रमणबाट अहिले सम्म जिल्लाभरी ५ सय २ पशुचौपाया मरेका छन् । संक्रमणका कारण १३५ बाच्छाबाच्छी, १७६ गाई, १३२ गोरु र ३० भैँसी मरेका भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनले जनाएको छ ।
लम्पी स्कीनबाट गाई बढी प्रभावित भएका भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटन बैतडीका प्रमुख गुमानीदत्त पन्तले बताए । जिल्लाभरी लम्पी स्कीनबाट आठ हजार २२६ पशुचौपाया संक्रमित रहेका पन्तले बताए । २ हजार ३४८ बाच्छाबाच्छी, २ हजार ९६० गाई, २ हजार २८० गोरु र ६४५ भैसी संक्रमित भएका उनले बताए ।
लम्पी स्कीनबाट धमाधम पशुचौपाया मर्न थालेपछि किसान चिन्तित भएका छन् । गाउँगाउँमा लम्पी स्कीनको प्रकोप फैलिएको सुर्नया ५ का हरिश बिष्टले बताए । लम्पी स्कीनबाट धमाधम घरपालुवा पशुचौपाया मर्न थालेपछि आफूहरु समस्यामा परेको उनले बताए ।
गत हिउँददेखि नै लम्पी स्कीनको प्रकोप देखिएको भएपनि अहिले सम्म नियन्त्रणमा आउन सकेको छैन् । लम्पी स्कीन लागेका पशुचौपायामा ज्वरो आउने, सिँगान तथा ¥याल बगाउने, शरीरमा गीर्खा आउने र खुर पाक्ने लगायत लक्षण देखिने गरेका छन् ।
यो रोग झिँगा, मच्छर र किर्नाले टोकेमा वा दानापानी, चरन क्षेत्र र पशुको आपसमा संसर्गबाट फैलिने भएकाले सचेत रहन सबैमा अपिल गरिएको छ ।
रोग नियन्त्रण गर्न किसानले भुसुना, किरा र लामखुट्टे नियन्त्रणका लागि गोठको सफाइ, भकारो व्यवस्थापन र चरन क्षेत्रको ख्याल गनुपर्नेमा पन्तले जोड दिए ।
लम्पी स्कीन भाइरसबाट लाग्ने भएकाले यसको औषधि नभएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका डा. विशाल पाठकले बताए । यसको रोकथामका लागि पशुचौपायाहरुमा खोप दिनुपर्ने भएपनि खोपको उपलब्धता नभएको उनले बताए ।




