Sagun Khabar
चट्याङ लागेर बैतडी र दार्चुलामा पशुचौपाया मरे, दार्चुलामा एकजना घाइते 

बैतडी–बैतडीमा चट्याङ लागेर पशुचौपाया मरेका छन् । बुधबार राति पुर्चौंडी नगरपालिका १ कनेडापानीका प्रेमसिंह भण्डारीको घर नजिकै रहेको विद्युतको तारमा चट्याङ पर्दा उनको गोठमा बाँधेका दुई भैंसी र एक बाख्राको मृत्यु भएको छ । 

यस्तै चट्याङले भण्डारीको घरमा गरिएको विद्युत वाइरिङ नष्ट भएको छ भने मिटर बक्स र दुईओटा मोबाइल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । चट्याङका कारण भण्डारीको घरमा एक लाख बढीको क्षति भएको बताइएको छ । 

यस्तै बिहीबार बिहान परेको चट्याङले दार्चुलाको महाकाली नगरपालिका ९ थाप्लाकी २८ बर्षीया कौशादेवी धामी घाइते भएकी छिन् । चट्याङले धामीको गोठमा बाँधेको एक भैंसी समेत मरेको प्रहरीले जनाएको छ । 

घाइते धामीको थाप्ला स्वास्थ्यचौकीमा उपचार भइरहेको छ भने घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update