बैतडी –सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधनको शोकमा नेपाली कांग्रेस सुदूरपश्चिमले ३ दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ ।
नेपाली कांग्रेस सुदूरपश्चिम कार्यसमितिले शोक वक्तव्य जारी गर्दै नेपाली कांग्रेस बझाङ जिल्लाका पूर्व पार्टी सभापति समेत रहेका सिंहको निधन भएको शोकमा प्रदेशमा ३ दिन पार्टीको झण्डा आधा झुकाउन निर्देशन दिइएको छ ।
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति बीरबहादुर बलायरद्धारा जारी शोक बक्तव्यमा प्रदेशभर ३ दिन पार्टीका कुनै पनि कार्यक्रम नगर्न समेत भनिएको छ ।
मन्त्री सिंहको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको नेपाली कांग्रेसले जनाएको छ । सरल स्वभाव र सादगी जीवनशैली भएका सिंहको निधनले पार्टीलाई क्षति पुगेको बक्तव्यमा उल्लेख गरिएको छ । दुर्घटनामा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ ।
यस्तै नेपाली कांग्रेस बैतडीले पनि एक शोक बक्तव्य जारी गर्दै मन्त्री सिंहको निधनले नेपाली कांग्रेसले ठूलो क्षति पुगेको उल्लेख गरेको छ । सभापति चतुरबहादुर चन्दद्वारा जारी गरिएको शोक बक्तव्यमा तीन दिनसम्म जिल्लाभित्र पार्टीका कुनै कार्यक्रम नगर्न र पार्टीको झण्डा आधा झुकाउन भनिएको छ ।




