बैतडी –बैतडीका विभिन्न स्थानमा रहेका मन्दिर तथा शक्तिपीठहरुमा नयाँ अन्न चढाउने काम भइरहेको छ । बारीमा पाकेको अन्नबाली देवीदेवतामा अर्पण गरेपछि मात्रै उपभोग गर्ने चलन अनुसार नयाँ अन्न चढाइने गरिएको हो ।
नयाँ अन्न चढाउने कार्यलाई स्थानीय भाषामा नौन्वागी चढाउने भन्ने गरिएको छ । जेठ शुक्ल पक्षमा जिल्लाका सबै जसो शक्तिपीठ तथा मन्दिरमा नयाँ अन्न चढाउने चलन रही आएको सुर्नया ३ का स्थानीय केशवराज भट्टले बताए ।
जेठ शुक्ल पक्षको प्रतिपदादेखि पूर्णिमा सम्म नौन्वागी चढाउने चलन रही आएको छ । खेतबारीमा उब्जेको अन्न देवीदेवतामा चढाएर उपभोग गरेमा राम्रो हुने विश्वास रही आएको स्थानीय संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले जानकारी दिए ।
जेठ शुक्ल पक्षमा समेत शक्तिको पूजाआराधना गर्ने चलन रही आएको उनले बताए । पहिलादेखि नै नयाँ अन्न मन्दिरमा चढाउने चलन रहेको र यसले सामाजिक सदभाव बढाउन समेत सहयोग गरेको उनले बताए ।
गाउँघरका मानिस शक्तिपीठ तथा मन्दिरमा जमा भएर पूजाआजा गर्ने चलन रही आएको डिलाशैनी ५ का वडा अध्यक्ष यज्ञराज भट्टले बताए । जेठ शुक्ल पक्षमा मन्दिर तथा शक्तिपीठमा नौन्वागी चढाउने चलन रही आएको छ ।
यस्तै आज जेठ शुक्ल पूर्णिमाका दिन जिल्लाको सुर्नया गाउँपालिका ३ स्थित प्रसिद्ध वासुलिङ्ग मन्दिरमा नौन्वागी चढाउने जात्रा भइरहेको छ । खेतमा उब्जेको नयाँ अन्नसहित स्थानीयहरु मन्दिरमा जमा भएर पूजा गर्ने चलन रही आएको स्थानीय अर्जुन भट्टले बताए ।
वासुलिङ्गलाई यो क्षेत्रको बरदानी देवताको रुपमा पूजाआजा गर्ने चलन रही आएको छ । नौन्वागी दिने जात्रामा समेत विभिन्न ठाउँबाट दर्शनार्थीहरु आउने गरेको स्थानीयहरुले बताएका छन् ।
यस्तै सिगास, महारुद्र, कैलपाल, भूमीराज लगायतका मन्दिरमा समेत नयाँ अन्न चढाइने गरिन्छ । यस्तै प्रसिद्ध शक्तिपीठहरु निङ्गलाशैनी, त्रिपुरा, मेलौली, डिलाशैनी, कफलाशैनीमा नौन्वागी चढाउने चलन रहेको स्थानीयहरुले बताएका छन् ।