बैतडी –बैतडीको प्रसिद्ध ईश्वरीगंगा धामदेखि जगन्नाथ मन्दिरसम्म जोड्ने पदमार्ग निर्माण कार्य जारी रहेको छ । पदमार्ग निर्माण कार्य अन्तर्गत ८ हजार ८४८ ओटा सिँढी निर्माण गरिने र अहिले सम्म ८५ ओटा सिँढी निर्माणको काम सम्पन्न भइसकेको ईश्वर रामनाम समितिका अध्यक्ष कर्णबहादुर चन्दले बताए ।
पदमार्ग निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारबाट १० लाख बजेट प्राप्त भएको छ भने अन्य रकम स्थानीयस्तरमा चन्दा संकलन भइरहेको । प्रति सिँढी ११ हजारका दरले चन्दादाताहरुले चन्दा दिने गरेको चन्दले बताए । सिँढी निर्माणका लागि चन्दा दिनेहरुको तिनपुस्ते नामावली सिँढीमै लेख्ने निर्माण समितिले जनाएको छ । ८५ ओटा सिँढी निर्माणका लागि १५ जनाबाट सहयोग प्राप्त भएको चन्दले बताए ।
ईश्वरीगंगा धामदेखि जगन्नाथ मन्दिरको दर्शन गर्न सहज होस भनेर पदमार्ग निर्माणको काम शुरु गरिएको निर्माण समितिले जनाएको छ । जगन्नाथ मन्दिरको दर्शनसंगै ईश्वरीगंगा धामको पनि दर्शन गर्नुपर्ने भएकाले श्रद्धालुहरुलाई धाममा पुग्न सहज होस भनेर पदमार्ग निर्माणको काम थालिएको हो ।
ईश्वरीगंगा धाम र जगन्नाथ मन्दिरबीच धार्मिक सम्बन्ध रहेकाले पनि धार्मिक पर्यटकहरुलाई दुवै मन्दिरमा दर्शनका लागि पुग्न सहज होस भनेर पदमार्ग निर्माणको काम भइरहेको हो । दुईतीन बर्ष अगाडिदेखि निर्माण कार्य थाल्ने योजना भएपनि कोरोना कहर कारण पदमार्ग निर्माणमा ढिलाई भएको हो ।
अबको तीन बर्षभित्र पदमार्ग निर्माण कार्य सम्पन्न गरिसक्ने लक्ष्य रहेको समितिले जनाएको छ । पदमार्ग निर्माण कार्य सम्पन्न भएमा ईश्वरीगंगा धाम र जगन्नाथ मन्दिरमा आन्तरिक धार्मिक पर्यटकको संख्यामा वृद्धि हुने अपेक्षा समेत गरिएको छ ।
जगन्नाथ मन्दिरमा चढाएको दुध ईश्वरीगंगा धाममा पुग्छ भन्ने जनविश्वास रही आएको छ । ईश्वरी गंगा धाममा गुफा रहेको र सो गुफा जगन्नाथ मन्दिर गढी सम्म रहेको बताइएको छ ।