Sagun Khabar
सिरिया र टर्की भूकम्प : ज्यान गुमाउनेको संख्या ४० हजार नाघ्यो 

सिरिया र टर्कीको सीमामा गतहप्ता गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ४० हजार नाघेको छ । टर्कीमा मात्रै भूकम्पमा परी ३५ हजार ४ सय १८ जनाले ज्यान गुमाएको त्यहाँका अधिकारीले जनाएका छन् । 

सिरियामा ५ हजार ८ सयले ज्यान गुमाएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । टर्कीबाट उत्तरपश्चिम सिरियामा बाब अल–सलाममा मानवीय सहायता बोकेका दशवटा अन्तर्राष्ट्रिय आप्रवासन संगठनका ट्रकहरू पुगेका छन् , टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले भग्नावशेषबाट ८ हजारभन्दा बढी मानिसको जिउँदै उद्धार गरेको बताएका छन् । 

Atrya hospital

भूकम्पपछि सिरियामा ५ दशमलव ३ मिलियन मानिस घरबारविहीन हुन सक्ने राष्ट्रसंघको अनुमान छ । टर्की र सिरियामा ९ लाख मानिसलाई तत्काल खानाको आवश्यकता रहेको राष्ट्रसंघले जनाएको छ । टर्कीमा ८२ देशका ९ हजार ४६ विदेशी कर्मचारी विपद् क्षेत्रमा कार्यरत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

भूकम्पमा परेका ९ जनालाई एक हप्तापछि मंगलबार उद्धार गरिएको छ । टर्कीमा ढलेका भग्नावशेषमा फसेका ९ जनाको हिजो जिवितै उद्धार गरिएको हो । भूकम्प गएको ठाउँमा सरसफाइको कमीका कारण सङ्क्रामक रोग फैलिने डर रहेको डब्लुएचओले चेतावनी दिएको छ । भूकम्पले निम्त्याएको कठिनाइसँगै जोखिममा रहेका मानिसहरूमा स्वास्थ्य समस्या पनि बढ्ने भन्दै डब्लुएचओले सचेत रहन आग्रह गरेको छ ।
 

प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  ०९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update