बैतडीको दशरथचन्द नगरपालिकामा जारी चौथो संस्करणको उपमेयर कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि साविक विजेता दनपा २ देहिमाडौं र दनपा ६ थालिगडा भिड्ने भएका छन् ।
आइतबार भएको खेलमा देहिमाडौंले साविक उपविजेता दनपा ४ खलंगालाई ६ विकेटले पाखा लगाउदैं उपाधिका लागि थालिगडासंगको भेट पक्का गरेको हो । यसअघि दनपा ५ दशरथचन्दलाई ७७ रनले हराउदै दनपा ६ थालिगडा फाइनलमा पुगिसकेको छ ।
सेमिफाइनल खेलमा खलंगाले दिएको १ सय ६ रनको लक्ष्य देहिमाडौंले १९ ओभरमा ४ विकेटको क्षतीमा पुरा गर्यो । जसमा पिंकी बोहरा र मनिषा बोहराले २६÷२६ रनको योगदान गरे । खलंगाका रितु कनौजियाले २ विकेट लिईन् ।
त्यसअघि दशरथचन्द खेलमैदान सुन्दरखालीमा पहिला ब्याटिंग गरेको खलंगाले १९ ओभरमा १ सय ५ रन बनायो । जसमा गोमती भट्टले २१ र रितु कनौजियाले १२ रन बनाए । देहिमाडौंका बसन्ती बोहराले ३ र मनिषा बोहराले २ विकेट हात पारिन । मनिषा ओम्यान अफ द म्याच चुनिएकी छन् ।
फाइनल खेल चैत १० गते हुने स्कोरर खेमराज भट्टले जानकारी दिनुभयो । दशरथचन्द नगरपालिकाको सहयोग तथा नगरक्रिकेट समितिको आयोजनामा चैत ३ गतेदेखि सुरु भएको प्रतियोगितामा ७ टोली सहभागी थिए ।
उपाधि विजेताले ४५ हजार र उपविजेताले ३० हजार पुरस्कार पाउने नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले बताउनुभयो ।