डडेल्धुरा –डडेल्धुरामा पहिरोमा परी ज्यान गुमाउनेका परिवारलाई राहत वितरण गरिएको छ । घरमाथिको भीरबाट पहिरो संगै खसेको ढुङ्गा लागेर मृत्यु भएकी आलिताल गाउँपालिका–८ की ५० वर्षीया पर्वती खड्काका परिवारलाई राहत रकम उपलब्ध गराइएको हो ।
प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले आज घरमै पुगेर मृत्तक पार्वतीका श्रीमान् धनबहादुर खड्कालाई रु दुई लाख रकम हस्तान्तरण गरे ।
सङ्घीय सरकारको मापदण्डअनुसार जिल्ला विपद् व्यवस्थापन समितिले राहत रकम उपलब्ध गराउने निर्णय गरेको र सोहीअनुसार राहत रकम हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिए ।
गत बिहीबार दिउँसो घरनजिकै काम गरिरहेका बेला माथिबाट पहिरोसँगै खसेको ढुङगा लागेर पार्वती गम्भीर घाइते भएकी थिइन् । गम्भीर घाइते उनको उपचारका लागि धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।
अन्य स्थानका बाढीपहिरो पीडितलाई पनि चाँडै राहात उपलब्ध गराइने प्रमुख जिल्ला अधिकारी जोशीले बताउनुभयो ।