Sagun Khabar
महाकाली करिडोर : १३ बर्षमा १६० किलोमिटर ट्रयाक खुल्यो 

दार्चुला –पश्चिम नेपालको तराईलाई दार्चुलाको टिंकर नाकासम्म जोड्ने महाकाली करिडोरको १३ वर्षमा एक सय ६० किलोमिटर ट्र्याक खोलिएको छ । ४ सय २५ किलोमिटर लम्बाइको करिडोरको अहिलेसम्म करिब ४० प्रतिशत काम भएको छ । दार्चुलाको व्यास गाउँपालिका–२ कोठेधारबाट टिंकर नाकासम्मको ८७ किलोमिटर सडक निर्माणको जिम्मा सेनाले लिएर काम थालेको छ ।

२०६५ मा निर्माण सुरु भएको त्रिदेशीय सीमा जोड्ने यो सडक कञ्चनपुरको बह्मदेवबाट डडेलधुरा, बैतडी र दार्चुलाको सदरमुकाम हुँदै टिंकर नाका भएर चीन जोड्ने योजना थियो । त्रिदेशीय सीमा जोड्ने सामरिक महत्त्वको सडक भए पनि निर्माणको गति हेर्दा सरकारको प्राथमिकतामा नपरेको स्थानीयको आरोप छ । अहिले महाकाली करिडोरअन्तर्गतका चारवटै जिल्लामा निर्माणको काम भइरहेको सडक योजना प्रमुख आशुतोष कर्णले बताए । 

Atrya hospital

योजना प्रमुख कर्णका अनुसार अहिले महाकाली करिडोरलाई लोकमार्ग निर्धारण गरेको छ । यसको दार्चुला सदरमुकामदेखि माथिको खण्डलाई माथिल्लो र यहाँदेखि कञ्चनपुरसम्मको भागलाई तल्लो खण्ड भनिँदै आएको छ । माथिल्लो खण्डको ८७ किलोमिटर सडकको ट्र्याक खोल्न सेनालाई जिम्मा दिएको छ । बाँकी सबै भागमा योजना कार्यालयले काम गरिरहेको छ । सेनाले गरिरहेको छाडेर बाँकी रहेको सडक खण्डमध्ये एक सय ६० किलोमिटरमा ट्र्याक खोलिसकेको र एक सय २४ किलोमिटरमा ठेक्का लागिसकेको उनले जानकारी दिए । लोकमार्गको दार्चुलामा ९०, बैतडीमा ५७ र डडेलधुरामा १३ किलोमिटर सडकको ट्र्याक खोलिएको हो ।

योजना कार्यालयका अनुसार दार्चुला जिल्लामा ४१ किलोमिटर, बैतडीमा ५८ किलोमिटर, डडेलधुरामा १४ र कञ्चनपुरमा ११ किलोमिटर सडकको ट्र्याक खोल्न ठेक्का भइसकेको छ । सेनाबाहेकको अब ५७ किलोमिटर सडकमा ठेक्का खोल्न बाँकी छ । चालु आर्थिक वर्षमा ३५ देखि ४० किलोमिटर सडकको नयाँ ट्र्याक खोलिने तथा ब्याक कटिङ, ग्रेड कटिङ र मर्मतको काम गर्ने योजना रहेको योजना प्रमुख कर्णले बताए । 
 

प्रकाशित मिति: शनिबार, असोज १६, २०७८  १२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update