दशरथचन्द नगरपालिकामा शुक्रबार सार्वजनिक बिदा
बैतडीको दशरथचन्द नगरपालिकामा यही असोज ९ गते शुक्रबार दशरथचन्द नगरपालिकामा सार्वजनिक बिदा दिइएको छ । प्रसिद्ध निङ्गालाशैनी भगवती मन्दिरमा लाग्ने जात (जात्रा मेला) को अवसरमा असोज ९ गते दशरथचन्द नगरपालिकामा स्थानीय सार्वजनिक बिदा दिइएको हो ।
बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौँस्थित श्री निङ्गालाशैनी भगवती मन्दिरमा भदौ शुक्ल चतुर्दशी (अनन्त चतुर्दशी) का दिन लाग्ने जात यस वर्ष असोज ९ गते पर्न गएकाले उक्त निर्णय गरिएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज सुवेदीद्वारा जारी सूचना अनुसार असोज ९ गते शुक्रबारका दिन नगरपालिकान्तर्गतका सम्पूर्ण सरकारी कार्यालय, गैरसरकारी सङ्घ संस्था तथा शैक्षिक संस्थाहरूमा स्थानीय सार्वजनिक बिदा रहनेछ ।
प्रकाशित मिति: बुधबार, असोज ७, २०८३ १८:३५
प्रतिक्रिया दिनुहोस्




