Sagun Khabar
दार्चुलाको चौलानी नदीमा तत्काल जोखिम नभए पनि सतर्क रहन  प्रशासनको आग्रह

दार्चुला- दार्चुलाको अपिहिमाल गाउँपालिका–१ भट्टारमा हिजो पहिरोले थुनिएको चौलानी (चमेलिया) नदीमा तत्काल जोखिम नरहे पनि सतर्क रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले उज्यालोलाई दिनुभएको जानकारीअनुसार पहिरोले आधा थुनिएको नदीको भागबाट निरन्तर पानी बगिरहेको छ । तर थप पहिरो खसेमा नदी पुरै थुनिन सक्ने भएकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहिरहन उहाँको आग्रह छ ।

अहिले आत्तिन नपर्ने, तर सावधानी भने अपनाउनुपर्ने उहाँको भनाइ छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पनि हिजो सूचना निकालेर महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाई सुरक्षित रहन आग्रह गरेको छ ।

चौलानी नदीमा माथिबाट आएको पहिरोका कारण नदी आधा थुनिएको र थप पहिरो आएर पूरै थुनिन सक्ने सम्भावना रहेकाले सम्भावित जोखिमबाट बच्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको हो ।

प्रकाशित मिति: शनिबार, भदौ २०, २०८३  ०९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update