Sagun Khabar
बैतडीमा ‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रम सञ्चालन हुने , विवरण उपलब्ध गराउन स्थानीय तहलाई पत्राचार 

बैतडी–बैतडीमा ‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रम सञ्चालन हुने भएको छ । केही दिन अघिमात्रै जिल्लामा हाजिर भएकी प्रमुख जिल्ला अधिकारी मीना अर्यालले शारीरिक अशक्तता र अपांगता भएका नागरिकहरुलाई मध्यनजर गर्दै उक्त कार्यक्रम सञ्चालनमा ल्याउने तयारी गरेको बताइन् । 

शारीरिक अशक्तता र अपांगता भएकै कारण जिल्ला प्रशासन तथा इलाका प्रशासन कार्यालयमा पुग्न नसकी नागरिकताबाट वञ्चित रहेका नागरिकलाई लक्षित गरेर यो कार्यक्रम सञ्चालनमा ल्याइन लागेको उनले बताइन् । 

नेपाली नागरिकताबाट वञ्चित रहेका अशक्त तथा अपांगता भएका नागरिकहरुलाई सकेसम्म उनीहरुकै घर वा सहज हुने नजिकको स्थानमा नागरिकता प्रदान गर्ने व्यवस्था मिलाउन लागेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताइन् । 

‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रम सञ्चालनका लागि अशक्त तथा अपांगता भएका नागरिकको विवरण संकलन गर्न थालिएको छ । यसका लागि जिल्लाका १० ओटै स्थानीय तहहरुलाई पत्राचार गर्दै आफ्नो पालिकाभित्र रहेका अशक्त तथा अपांगता भएका नागरिकको विवरण उपलब्ध गराइदिन आग्रह गरिएको छ । 

विवरणको ढाँचासहित सबै स्थानीय तहहरुलाई पत्राचार गरिएको र नागरिकता बनाउन बाँकी रहेका अशक्त तथा अपांगता भएका नागरिकको विवरण उपलब्ध गराउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताइन् । 
 
 

प्रकाशित मिति: आइतबार, साउन ३१, २०८३  १५:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update