बैतडी–हरेक बर्ष साउनको महिना बैतडीका शक्तिपीठ तथा मन्दिरहरुमा दर्शनार्थीहरुको घुइँचो लाग्ने गर्दछ । यो महिनालाई बत्ती बाल्ने महिनाको रुपमा मनाउने भएकाले शक्तिपीठ तथा मन्दिरहरुमा दर्शनार्थीहरुको घुइँचो लाग्ने गरेको हो ।
बैतडीका प्रसिद्ध केदारका मन्दिर र भगवतीका मन्दिर भएकाले यहाँका मन्दिर र शक्तिपीठहरुमा श्रावण महिनाभरी भक्तजनहरुको घुइँचो लाग्ने गरेको स्थानीय संस्कृतिका जानकार शिवराज भट्टले बताए । उनले भने, ‘श्रावण महिनालाई पवित्र महिना मानेर यहाँ पूजाआजा गर्ने चलन रहेको छ । घर बाहिर रहेकाहरु पनि पूजापाठका लागि यो महिना थातथलोमा फर्कने गरेका छन् ।’
श्रावण महिनामा जिल्लाको प्रसिद्ध रौलाकेदार धाममा दर्शनार्थीहरुको घुइँचो लाग्ने गरेको पूजारी विष्णुदत्त भट्टले बताए । हरेक बर्ष यो धाममा श्रावण महिनाभरी भक्तजन आउने गरेका उनले बताए ।
श्रावणको पहिलो दिनमै भक्तजनहरुको भीड लाग्ने गर्दछ भने यो महिनाभरी दर्शनार्थीहरु दर्शनका लागि पुग्ने गरेका पूजारी भट्टले बताए । रौलाकेदारको दर्शन गरेमा बद्रीकेदारको दर्शन गरेजत्तिकै फल प्राप्त हुने जनविश्वास रही आएको छ ।
यस्तै प्रसिद्ध सिगास धुरा धाममा पनि श्रावणको महिना दर्शनार्थीहरु पुग्ने गरेका छन् । सिगास गाउँपालिकामा रहेको यो धाममा दर्शनका लागि श्रावण महिनामा टाढाबाट भक्तजनहरु पुग्ने गरेका स्थानीय सूर्यबहादुर बोहराले बताए ।
जिल्लाका प्रसिद्ध त्रिपुरासुन्दरी, निङ्गलाशैनी, डिलाशैनी, मेलौली, कफलाशैनी लगायतका भगवतीका मन्दिरमा श्रावण महिनाभरी भक्तजनहरुको घुइँचो लाग्ने गरेको छ । यो महिनामा बसाइसराई गरेर गएकाहरु पनि थातथलोमा फर्कन गरेका त्रिपुरासुन्दरी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशसिंह थापाले बताए । यो बर्ष अषाढी जात पनि साउन महिनामै भएकाले त्रिपुरासुन्दरी दर्शन गर्नेको संख्या बढेको उनले बताए ।
श्रावण महिनाभरी मन्दिरहरुमा बत्ती बालेर जाग्राम बस्ने चलन रही आएको पाटन –२ स्थित महारुद्र मन्दिरका पूजारी शिवदत्त अवस्थीले बताए । महारुद्र धाममा श्रावणको १५ गते हरेक बर्ष खिराइ पूजा हुने गरेको उनले बताए ।
दशरथचन्द नगरपालिका–१ स्थित महारुद्र मन्दिरमा पनि श्रावणको महिनाभरी बत्ती बाल्ने र दर्शन गर्नेहरुको संख्या बढ्ने गरेको मन्दिरका पूजारी सिद्धराज भट्टले बताए ।
साउनभरी जिल्लाको प्रसिद्ध पाताल भुवनेश्वर धाम, दोगडाकेदार, शिवनाथ, गणमेश्वर, उदयदेव, अनिरुद्र, वासुलिङ्ग, ग्वाल्लेक केदार लगायतका धामहरुमा पूजाआजा हुने गरेको स्थानीयहरुले बताएका छन् ।




