Sagun Khabar
गण्डकीमा मन्त्रिपरिषद् पुनर्गठन,  कांग्रेस र एमालेबीच बराबरी भागबण्डा

गण्डकी प्रदेशमा सबै मन्त्री फेरिएका छन् । मुख्यमन्त्री सुरेन्द्र पाण्डेको सिफारिशमा प्रदेश प्रमुख डिल्लीराज भट्टले आठ जना मन्त्रीहरूलाई नियुक्त गरेर आजै पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

नौ सदस्यीय मन्त्रिपरिषदमा नेपाली कांग्रेस र नेकपा एमालेले चार–चार जना मन्त्री पाएका छन् । मुख्यमन्त्री पाण्डे कांग्रेसको नेता हुनुहुन्छ ।

पुनर्गठित मन्त्रिपरिषदमा कांग्रेसबाट जीत शेरचन अर्थमन्त्री, नन्दप्रसाद न्यौपाने ऊर्जा जलस्रोत तथा खानेपानीमन्त्री, रेखा गुरुङ सामाजिक विकास युवा तथा खेलकुदमन्त्री र नम्डु गुरुङ वन तथा वातावरणमन्त्री बन्नुभएको छ ।

यस्तै एमालेबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था, यशोदा रिमाल उद्योग तथा पर्यटन, लक्ष्मण पाण्डे स्वास्थ्य र भीम कार्की कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री बन्नुभएको छ ।

यसैबीच मन्त्री पद नपाएपछि कांग्रेसबाट निर्वाचित गण्डकी प्रदेश सांसद दोर्णकुमार कुँवरले पदबाट राजीनामा दिनुभएको छ । मन्त्रिपरिषद् हेरफेर हुँदा मन्त्री बन्न प्रयास गरिरहनुभएका कुँवरले प्रदेशसभाका सभामुखलाई सम्बोधन गरी पत्र लेखेर आजैदेखि नै लागू हुने गरी राजीनामा दिनुभएको हो ।

प्रकाशित मिति: बुधबार, वैशाख २, २०८३  १५:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update