Sagun Khabar
श्रममन्त्री दीपककुमार शाह पदमुक्त

काठमाण्डौ – प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार शाहलाई पदबाट हटाएका छन् । 

प्रधानमन्त्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिशअनुसार आज शाहलाई पदमुक्त गरेका हुन् । मन्त्री शाहले पदीय मर्यादाको दुरुपयोग गरी श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डको सदस्यमा मनोनयन गरेको भन्दै रास्वपाको केन्द्रीय अनुशासन आयोगले सभापति लामिछानेसमक्ष कारबाहीको सिफारिश गरेको थियो ।

रास्वपाले शाहको यो गतिविधिबाट पार्टीको छवि, आदर्श, सिद्धान्त र मर्यादामाथि आँच आउने देखिएको निष्कर्ष निकालेको थियो । यसैका आधारमा प्रधानमन्त्री शाहले श्रममन्त्री शाहलाई पदमुक्त गरेका हुन् । 

रास्वपाको पार्टी विधानको धारा २५ (४) (क) मा पार्टी सभापतिलाई पार्टीको आदर्श, सिद्धान्त र मर्यादामाथि आँच आउन नदिन जिम्मेवारी सुम्पिएको छ र पदको दुरुपयोग भएको अवस्थामा विधानको धारा ६९ मा पार्टीले जिम्मेवारीबाट फिर्ता बोलाउन (राइट टु रिकल) सक्ने व्यवस्था छ ।

यस्तै यस्तो गम्भीर विषयमा आफ्नो जिम्मेवारीमा अपेक्षित गम्भीरता नदेखिएकाले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहतालाई प्रधानमन्त्री शाहले सचेत गराएका छन् । 
 

प्रकाशित मिति: बिहीबार, चैत २६, २०८२  १६:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update