दार्चुला –दार्चुलामा भएको जिप दुर्घटनामा परी घाइते भएका तीन जनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत धनगढी लगिएको छ ।
दुर्घटनामा परी घाइते भएका चारजनामध्ये गम्भीर घाइते तीन जनालाई धनगढी लगिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता, प्रहरी निरीक्षक देवेन्द्र बुढाथोकीले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका जिप चालक शैल्यशिखर नगरपालिका–४ काँडापारीका २२ बर्षीय प्रकाश ठगुन्ना , सोही ठाउँका स्थानीय अकबर महरा र मालिकार्जुन गाउँपालिका–५ डाँडाकोट भएका सिँचाइ कार्यालयका कार्यालय सहयोगी ४५ बर्षीय मिनबहादुर पाललाई धनगढी लगिएको छ । उनीहरुको मायामेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक सिंहले बताए । दुर्घटनामा घाइते भएका जिप साहु विक्रम महराको अवस्था भने सामान्य रहेको बताइएको छ ।
काँडापारीबाट गोकुलेश्वरतर्फ आइरहेको जिप शैल्यशिखर नगरपालिका–४ ओसिल क्षेत्रमा दुर्घटना हुँदा त्यसमा सवार दुई जना सरकारी कर्मचारीको घटनास्थलमा मृत्यु भएको थियो । मृत्यु हुनेमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दार्चुलामा कार्यरत इन्जिनियर मनिषा चन्द र सिनियर एसोसिएट अर्गनाइजर भरतबहादुर तितरा रहेका छन् ।
प्रहरीका अनुसार ६ जना सवार सिँचाई कार्यालय दार्चुलाले भाडामा प्रयोग गरेको सुप्रप ०१ ००१ ज १६४१ नम्बरको जिप दुर्घटनामा परेको हो । मंगलबार बिहान करीब ९ बजेतिर जिप दुर्घटनामा परेको बताइएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।




