बैतडी - दार्चुलामा सडक दुर्घटना परि दुई जनाको मृत्यु भएको छ। जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ४ ओसिलमा भएको जिप दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्।
काँडापारीबाट गोकुलेश्वरतर्फ गइरहेको जिप शैल्यशिखर नगरपालिका–४ ओसिल क्षेत्रमा दुर्घटना हुँदा त्यसमा सवार दुई जना सरकारी कर्मचारीको घटनास्थलमा मृत्यु भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार दुर्घटनामा परी जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दार्चुलामा कार्यरत इन्जिनियर मनिषा चन्द र सिनियर एसोसिएट अर्गनाइजर भरतबहादुर तितराको घटनास्थलमा मृत्यु भएको स्रोतमा उल्लेख गरिएको छ । कामको सिलसिलामा उनीहरू काँडापारीबाट ओसिलतर्फ गइरहेका भनिएको छ । प्रहरीका अनुसार ६ जना सवार सिँचाई कार्यालय दार्चुलाले भाडामा प्रयोग गरेको सुप्रप ०१ ००१ ज १६४१ नम्बरको जिप दुर्घटनामा परेको बताइएको छ ।
मङ्गलवार बिहान करिब ९ बजे आसपासमा भएको दुर्घटनामा घाइते हुनेमा शैल्यशिखर नगरपालिका–४ को काँडापारीका जिप चालक २२ वर्षका प्रकाश ठगुन्ना, जिपमा सवार २५ वर्षीय विक्रम महर, ५० वर्षीय अकबर महरा र मालिकार्जुन गाउँपालिका–५ डाँडाकोट बस्ने ४५ वर्षीय मिनबहादुर पाल रहेका छन् । उनीहरुको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ। जिप दुर्घटनाको कारण भने खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




