Sagun Khabar
पहाडी क्षेत्रमा होलीको रौनक, आज समापन गरिँदै 

बैतडी – बैतडीसहित पहाडी क्षेत्रहरुमा होलीको रौनक बढेको छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सदभावनाको सन्देश लिएर आउने फागु पर्व हर्षोल्लासका साथ एकआपसमा रङ्ग र लोला खेली मनाउने गरिन्छ ।

असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवम् सामाजिक एकताको पर्वका रुपमा फागु पर्व मनाउने चलन छ ।

हिरण्यकशिपुले बहिनी होलिकालाई दन्किरहेको आगोमा छोरा प्रल्हादसहित पस्न लगाउँदा होलिका भष्म भएकी र भक्त प्रल्हाद भने सकुशल निस्केको प्रसङ्ग पुराणहरुमा उल्लेख छ ।

शक्तिको दुरुपयोग गर्ने होलिका मारिएको भन्दै होलिकादहन अर्थात चीरदाह गरेर आपसमा रङ्ग, अबीर लगाएर खुशीयाली मनाएर होली खेल्ने परम्पराको शुरूवात भएको मानिन्छ ।

बैतडीमा विभिन्न विद्यालय, क्लब, आमा समूह लगायतले सामूहिक रुपमा होली खेलीरहेका छन् । संस्कृति संरक्षणका साथै विद्यालयमा शिक्षकहरुको तलबको जोहो गर्न विभिन्न विद्यालयहरुले होली खेल्ने गरेका छन् । 

जिल्ला अधिकांश विद्यालयहरुले होली खेलेर संकलन गरेको रकमले विद्यालय खर्चको जोहो गर्दै आएका छन् । अधिकांश विद्यालयहरु निजी श्रोतमा सञ्चालन गर्दा होली लगायतका कार्यक्रमबाट रकम संकलन गर्ने गरिएको छ ।

दशरथचन्द नगरपालिका–१ स्थित सत्यम् शिवम् सुन्दरम् समाजले हरेक बर्ष होली खेल्दै आएको छ । समाजले संस्कृतिक संरक्षणका साथै सामाजिक कार्यका लागि होली खेल्दै आएको समाजका अध्यक्ष भुवन भट्टले बताए । 

यो बर्ष चुनाव पनि नजिक आएकाले होलीका समयमा संयमित भएर होली खेल्न स्थानीय प्रशासनले आग्रह गरेको छ । कसैको इच्छा विपरीत रंग नदल्न, लोला नहान्न र अबेरसम्म होली नखेल्न प्रशासनले आग्रह गरेको छ । 
 

प्रकाशित मिति: सोमबार, फागुन १८, २०८२  ०७:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update