Sagun Khabar
शैल्यशिखरका प्रमुख प्रशासकीय अधिकृतसहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर 

दार्चुला –दार्चुलाको शैल्यशिखर नगरपालिकामा सञ्चालित बाख्रा पालन अनुदान योजनासम्बन्धी विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष २०७८÷०७९ मा सुदूरपश्चिम प्रदेश सरकारबाट प्राप्त विशेष अनुदानअन्तर्गत सञ्चालन गरिएको ‘नागार्जुन दानेश्वर आधुनिक बाख्रा फार्म निर्माण’ योजनामा व्यापक अनियमितता भएको पाइएको अख्तियारले जनाएको छ । अनुसन्धानबाट योजनामा २३ लाख ७५ हजार रुपैयाँ सरकारी रकम बदनियतपूर्वक हिनामिना गरिएको आयोगका सहसचिव एवम प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

उनका अनुसार योजना कार्यान्वयनका क्रममा उपभोक्ता समिति गठन नै एकै घरपरिवारका सदस्य मिलेर गरिएको पाइएको छ । २०७८ साल मंसिर २८ गते सम्झौता गर्दा उपभोक्ता समितिले गर्नुपर्ने कामसम्बन्धी स्पष्ट विवरण नै नखुलाइ केवल औपचारिक सम्झौता गरिएको थियो ।

योजनाअन्तर्गत भक्तपुरको चाँगुनारायणस्थित एकीकृत कृषि उद्यमी भट्टराई परिवारबाट बोयर जातका १५ वटा बोका र १५ वटा बाख्रा खरिद गरिएको भनी बिल पेस गरिए पनि उक्त उद्यमीले आफूले त्यस्तो बाख्रा बिक्री नै नगरेको अख्तियारलाई बयान दिएको छ । साथै भक्तपुरदेखि दार्चुलासम्म बाख्रा ढुवानी गरिएको कुनै प्रमाण, बिल वा कागजातसमेत संलग्न गरिएको थिएन ।

बाख्रा वितरणसम्बन्धी भरपाई कागजातमा मिति, लाभग्राहीको ठेगाना र पहिचान खुल्ने विवरण नराखी उपभोक्ता समितिकै पदाधिकारीले आफैँ बुझेको देखिने झुट्टा कागजात तयार गरिएको पनि अख्तियारको आरोप छ ।

आयोगले प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर विष्ट र तत्कालीन लेखापाल घनश्याम जोशी विरुद्ध जनही २३ लाख ७५ हजार, तत्कालीन इन्जिनियर राजेन्द्रसिंह धामी, सब–इन्जिनियर मदन बिष्ट र तत्कालीन नाप्रास अम्बिका बिष्ट विरुद्ध जनही ११ लाख २७ हजार ९१५ रुपैयाँ ४२ पैसा, नागार्जुन दानेश्वर आधुनिक बाख्रा पालन उपभोक्ता समितिका अध्यक्ष रुपेश विष्ट, सचिव प्रकाश विष्ट र कोषाध्यक्ष पूजा बिष्ट विरुद्ध जनही २३ लाख ७५ हजार विगो दाबी गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार सजाय मागदाबी गर्दै मुद्दा दायर गरेको हो ।
 

प्रकाशित मिति: आइतबार, माघ ४, २०८२  १८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update