Sagun Khabar
कांग्रेस बैठकका ६ बुँदे निर्णय सार्वजनिक

काठमाण्डौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले नयाँ बानेश्वरमा शनिबार सभापति गगन थापाको अध्यक्षतामा बसेको बैठकपछि ६ बुँदे निर्णय सार्वजनिक गरेको छ । बैठकले निर्वाचन आयोगको पछिल्लो निर्णय स्वागत गर्दै पार्टी एकता, आगामी निर्वाचन, पूर्वसभापति शेरबहादुर देउवाको भूमिका र मूल्य–मान्यता सम्बद्ध विषयमा महत्वपूर्ण निर्णय गरेको छ ।

पार्टी प्रवक्ता देवराज चालिसेले बैठकपछि सार्वजनिक गरेको निर्णय अनुसार कांग्रेसले निर्वाचन आयोगको निर्णयलाई कसैको हार–जित नभई विधि र लोकतन्त्रको विजयको रूपमा व्याख्या गरेको छ । बैठकले देउवाले पार्टी नेतृत्वमा पु¥याएको योगदानप्रति धन्यवाद ज्ञापन गरेको छ र आगामी दिनमा अभिभावकीय भूमिका प्राप्त हुने विश्वास व्यक्त गरेको छ ।

कांग्रेसले अब कुनै अप्राकृतिक गठबन्धन वा सत्ताकेन्द्रित सम्झौता नगर्ने प्रतिबद्धता दोहोर्याएको छ । बैठकले संविधानको रक्षा, मूल्य र मान्यतामा अडिग रहँदै नवयुवाको आकांक्षा सम्बोधन गर्ने निर्णय गरेको छ । साथै, फागुन २१ गते हुने निर्वाचनमा सबै तहका समिति र भ्रातृ संस्थाहरूलाई नवीन ऊर्जा र पूर्ण एकताका साथ सहभागी हुन आह्वान गरिएको छ ।

निर्णयअनुसार केन्द्रीय कार्यसमितिले यसो भनेको छ–

१. निर्वाचन आयोगले पार्टीको दोस्रो विशेष महाधिवेशनको निर्णयलाई संविधान, कानून र पार्टी विधानअनुसार मान्यता दिएको छ । यो कसैको जित–हार होइन—यो विधान र लोकतन्त्रको विजय हो । 

२. यो समय एकता, सद्भाव र सहकार्यको हो । देश–विदेशमा रहेका सबै कांग्रेसजन, तहका समिति र भ्रातृ संस्थाहरूलाई फागुन २१ को निर्वाचनमा सक्रिय सहभागिताका लागि आह्वान गरिएको छ ।

३. विभिन्न कारणले पार्टीबाट निष्क्रिय वा पार्टी छाडेका सबैलाई पुनः पार्टीमा जोडिन आह्वान गरिएको छ ।

४. निवर्तमान सभापति शेरबहादुर देउवा लगायतका नेताहरूले पु¥याएको योगदानको उच्च कदर गर्दै धन्यवाद ज्ञापन गरिएको छ । उनका लागि अभिभावकीय भूमिका रहने विश्वास व्यक्त गरिएको छ ।

५. पार्टीले अब कुनै अप्राकृतिक गठबन्धन वा सत्ताकेन्द्रित सम्झौता नगर्ने पुनः प्रतिबद्धता जनाएको छ। संविधानको रक्षा गर्दै समृद्ध नेपालको नेतृत्व गर्ने र नवयुवाको आकांक्षा तथा जनताको अपेक्षा पूरा गर्ने लक्ष्य कायम गरिएको छ ।

६. यो नयाँ अध्याय—रुपान्तरण, एकता र विजयको हो । सबैलाई समृद्ध नेपाल निर्माणको अभियानमा सक्रिय सहभागिताका लागि अनुरोध गरिएको छ ।
 

प्रकाशित मिति: शनिबार, माघ ३, २०८२  १७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update