काठमाण्डौ – भारतको हिमाचलमा ग्यास सिलिण्डर पड्किँदा ९ जना नेपालीको मृत्यु भएको छ । हिमाचलको सोलन जिल्ला अर्कीमा ग्यास सिलिण्डर विस्फोटपछि भएको आगलागीमा सल्यानको सिद्धकुमाख गाउँपालिका–२ का ९ जना नेपालीको मृत्यु भएको गाउँपालिकाका सूचना अधिकारी भिमलाल भण्डारीले जानकारी दिए ।
मृतकहरू स्थानीय धनबहादुर र काशीराम विकका परिवार रहेको उनले पुष्टि गरे । भण्डारीका अनुसार ३३ वर्षीय धनबहादुर विक, उनकी श्रीमती ३२ वर्षीया कविता विक, छोरी १६ वर्षीया राधा विक, १० वर्षीया रेणुका विक र राजन विकको मृत्यु भएको हो ।
त्यस्तै ४७ वर्षीय काशिरामसहित उनकी श्रीमती ३२ वर्षीया टीका विक, छोरी १२ वर्षीया अनु विक र छोरा ७ वर्षीय किरण विकको ज्यान गएको वडाध्यक्ष मेघराज बुढाथोकीले निकालेको विज्ञप्तिमा उल्लेख छ । वडाका दुई परिवारका ९ जना सदस्यको ज्यान गएपछि आज वडा नम्बर २ मा शोक बिदा दिइएको छ ।
साथै ज्यान गएका परिवारको शव ल्याउन आवश्यक सम्पूर्ण खर्च पालिकाले नै बेर्होने र काजक्रिया खर्चको व्यवस्था पनि गर्ने पालिकाले निर्णय गरेको छ । भारतीय सञ्चारमाध्यमले हिजो राति ग्यास सिलिण्डर पड्कीएर आगलागी भएको जनाएका छन् । आगलागीबाट १५ वटाभन्दा धेरै पसलमा समेत क्षति भएको छ ।




