दार्चुला –दार्चुलाको व्याँस गाउँपालिका–१ छाङरुमा सौर्य ऊर्जामार्फत विद्युत आपूर्ति शुरु गरिएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोग र स्थानीय उपभोक्ताको श्रमदानमा निर्माण गरिएको ५३ किलोवाट क्षमताको सौर्य मिनि ग्रिडबाट १२० घरधुरी, तीन व्यवसायिक फर्म तथा चार सरकारी कार्यालयमा विद्युत सेवा पुगेको छ ।
सौर्य मिनि ग्रिड सञ्चालनमा आएपछि स्थानीय उपभोक्ताले दैनिक केही घण्टाबाहेक नियमित रूपमा विद्युत प्रयोग गर्न पाएका वडाध्यक्ष अशोकसिंह बोहराले बताए । चिसो मौसमका कारण ब्याट्री रेस्टका लागि साँझ ९बजेदेखि राति २ बजेसम्म विद्युत आपूर्ति बन्द गर्ने गरिएको उनले बताए ।
मिनि ग्रिडबाट उत्पादित विद्युत वितरणका लागि १ किलोमिटर भन्दा बढी थ्री–फेज र ४३२ मिटर सिंगल–फेज प्रशारण लाइन निर्माण गरिएको छ । सशस्त्र प्रहरी कार्यालयबाहेक वडा कार्यालय, विद्यालय, स्वास्थ्य चौकी लगायतका सरकारी कार्यालयमा पनि सोही ग्रिडबाट विद्युत आपूर्ति भइरहेको छ । सोही ग्रीडबाट २० वटा सडक बत्ती जडान गरिएको वडा अध्यक्ष बोहराले बताए ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका सिनियर अफिसर अमानुवल हक अन्सारीका अनुसार मिनि ग्रिड निर्माणमा केन्द्रको ४ करोड १३ लाख ३३ हजार १०२ रुपैयाँ लगानी तथा स्थानीय उपभोक्ताको १० प्रतिशत श्रमदान रहेको छ । असार महिनादेखि सञ्चालनमा आएको ग्रिड उपभोक्तालाई हस्तान्तरण गर्न भने अझै बाँकी रहेको उनले बताए ।
यसअघि छाङरुमा लघु जलविद्युतमार्फत विद्युत सेवा पु¥याउने प्रयास भए पनि हिमपात, बाढी र पहिरोका कारण पटक–पटक क्षति पुग्दा सेवा नियमित हुन सकेको थिएन । गरिबी निवारण कोषको ४० प्रतिशत अनुदान र उपभोक्ताको ६० प्रतिशत स्वलगानीमा निर्माण गरिएको जलविद्युत दीर्घकालीन रूपमा सञ्चालन हुन नसकेको वडाध्यक्ष बोहराले जानकारी दिए ।




