दार्चुला –दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर १ स्थित अस्थायी प्रहरी पोष्ट भरडकोट, बित्थडको नव निर्मित भवनको उद्घाटन गरिएको छ ।
सोमबार सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीले एक कार्यक्रमकाबीच नवनिर्मित भवनको उद्दघाटन गरेका हुन् ।
४८ लाख रुपैयाँको लागतमा अस्थायी प्रहरी पोष्टको एक तले तीन कोठे भवन निर्माण गरिएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रमुख, प्रहरी निरीक्षक निरजसिंह भाटले बताए । उक्त भवन गएको असार महिनामा निर्माण सम्पन्न गरिएको थियो ।
भवन उद्दघाटन समारोहमा सशस्त्र प्रहरी बल नेपाल ४४ नम्बर गण हेडक्वार्टर दार्चुलाका सशस्त्र प्रहरी उपरीक्षक देवराज जोशी, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक गौरव महत, लेकम गाउँपालिकाका निर्वतमान अध्यक्ष परमानन्द जोशी, लेकम गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष नवराज पन्त लगायतको सहभागिता रहेको थियो ।




