अछाम –सुस्त मनस्थिति भएकी किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । किशोरमाथि करणीपछि गर्भ समेत रहेको बताइएको छ ।
पीडित पक्षले दिएको जाहेरीका आधारमा अछामको ढकारी गाउँपालिकाका १९ बर्षीय पुष्प साउँदलाई प्रहरीले पक्राउ गरेको हो ।
साउँदलाई आइतबार उनको घरबाटै नियन्त्रणमा लिएको अछाम प्रहरी प्रमुख ओमप्रकाश खनालले जानकारी दिए ।
ढकारी प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले साउँदलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया र अनुसन्धान थालिएको अछाम प्रहरीले जनाएको छ ।
प्रहरी प्रमुख खनालका अनुसार किशोरीलाई पेट दुख्ने समस्या भएपछि आफन्तले जिल्ला अस्पतालमा शुक्रबार स्वास्थ्य परीक्षणपछि पेटमा २९ हप्ताको गर्भ रहेको तथ्य बाहिरिएको हो ।
आफन्तले सोधपुछका क्रममा पीडित किशोरीलाई गत जेठ १४ गते आरोपित किशोरले फकाएर गाउँकै खर्कभित्र जबरजस्ती करणी गरेको बताइएको छ ।




