दार्चुला –दार्चुला प्रहरीले कर्तव्यज्यान मुद्दाका फरार कैदीलाई पक्राउ गरेको छ । कर्तव्यज्यान मुद्दामा २५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना सजाय तोकिएका दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ७ का २३ बर्षीय दिपक चन्दलाई मंगलबार महाकाली नगरपालिका वडा नम्बर ४ पुलघाटबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सह प्रवक्ता प्रहरी निरीक्षक देबेन्द्रसिंह बुढाथोकीले जानकारी दिए ।
शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको गस्ती टोलीले चन्दलाई बिहान ११ बजेको समयमा पक्राउ गरेको उनले बताए ।
दार्चुला जिल्ला अदालतले २०७८ सालको मुद्दामा २०८० पुस ११ गते चन्दलाई २५ वर्ष कैद र १ लाख जरिवाना तोकिएको थियो ।
नख्खु कारागार कार्यालय, ललितपुरमा सजाय भुक्तान गरिरहेका चन्द २०८२ भदौ २३ र २४ गते देशभर भएको जेन जी आन्दोलनको क्रममा भदौ २४ गते नख्खु कारागारको बन्दीगृहबाट फरार भएका थिए ।
चन्दलाई पक्राउ गरी तोकिएको सजाय भुक्तानका लागि कारागार कार्यालय दार्चुला पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।




