काठमाण्डौ – चुनावको सुरक्षाका लागि राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालनको स्वीकृति दिएका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले आज निकालेको विज्ञप्तिमा आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावको सुरक्षाका लागि राष्ट्रपतिले सेना परिचालनको स्वीकृति दिएको उल्लेख छ ।
गएको सोमवार बसेको मन्त्रिपरिषद् बैठकले चुनाव लक्षित सुरक्षार्थ सेना परिचालनका लागि राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको थियो । गएको भदौ २३ र २४ गते नवयुवाबाट भएको आन्दोलनपछि गठित अन्तरिम सरकारले फागुन २१ गतेका लागि प्रतिनिधिसभा चुनाव तोकेको छ ।
चुनावका लागि शान्ति सुरक्षाको वातावरण नदेखेपछि सरकार सेना परिचालन गर्ने रणनीतिमा पुगेको हो । सरकारले एकीकृत सुरक्षा योजना तयार गर्दा नै अहिलेको सुरक्षा अवस्थाको विश्लेषण गरी सेना परिचालनको निर्णयमा पुगेको हो । नेपाली सेना यसअघिका सबै चुनावमा परिचालन हुँदै आएको छ ।
गएको कात्तिक ३० गते बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले एकीकृत सुरक्षा योजना स्वीकृत गर्ने निर्णय गरेसँगै सेना परिचालनको प्रक्रिया अगाडि बढेको हो । मङ्सिर ४ गते राष्ट्रिय सुरक्षा परिषद्ले पनि सेना परिचालनका लागि मन्त्रिपरिषदमा प्रस्ताव पठाउने निर्णय गरेको थियो ।
तीन चरणको सुरक्षा योजना अनुसार पहिलो चरणको सुरक्षाका लागि सेना खटिनेछ । यस्तै चुनावअघि नै नवयुवाको आन्दोलनमा लुटिएका हतियार फिर्ता गर्न र फरार कैदीबन्दी पक्राउ गर्न पनि सेनासहितको विशेष अप्रेशन सञ्चालन गर्ने सरकारको योजना छ ।
नवयुवाको आन्दोलनमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट लुटिएका ५ सय ८६ थान हतियार पनि सेनाले नै फिर्ता ल्याएको थियो । ती हतियार सेनाले सम्बन्धित प्रहरीलाई फिर्ता गरेको छ ।
प्रहरीका झन्डै ६ सय हतियार तथा साढे ४ हजार कैदीबन्दी अहिले पनि सम्पर्कमा छैनन् । त्यस्तै प्रहरीका कार्यालयसहितका संरचनामा पनि ठूलो क्षति पुगेका कारण यस पटक सेना छिट्टै सक्रिय हुन लागेको हो ।




