काठमाण्डौ–सरकारले नेपाल प्रहरीको प्रहरी महानिरीक्षकमा एआईजी दानबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्रिपरिषद् बैठकले पर्सि बिहिवारदेखि लागू हुनेगरी नेपाल प्रहरीको प्रहरी महानिरीक्षक पदमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री जगदीश खरेलले बताए ।
२०५४ सालको चैतमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका कार्की ३० वर्षे सेवा अवधि कायम रहे २०८४ सालको चैतसम्म प्रहरी महानिरीक्षकमा रहनेछन् । कार्की अहिले उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा प्रमुख रहेका छन् ।
गएको भदौ २४ गते भएको जेनजी आन्दोलनकै दिन उनले उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी पाएका थिए । ३० वर्षे सेवा अवधिकै कारण अहिलेका प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ अवकाशमा जाँदै छन् । नवनियुक्त महानिरीक्षक कार्की गएको वैशाख १५ गते डीआईजीबाट एआईजीमा बढुवा भएका थिए । त्यसको ६ महिनापछि उनी प्रहरी महानिरीक्षकमा बढुवा भएका हुन् ।




