दार्चुला – पर्यटन विकासमा उत्कृष्ट कार्य गरेबापत दार्चुलाको अपिहिमाल गाउँपालिका सम्मानित भएको छ ।
विश्व पर्यटन दिवसको अवसरमा नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अपिहिमाललाई देशभरका स्थानीय तहमध्ये पर्यटन विकासमा उत्कृष्ट पालिकाको रूपमा सम्मान गरेको हो ।
शुक्रबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहरालाई सम्मानपत्र हस्तान्तरण गरे ।
विविध कारणले सेप्टेम्बर २७ मा आयोजित मुख्य समारोहमा उपस्थित हुन नसकेकाले मन्त्रालयले छुट्टै कार्यक्रम आयोजना गरी अध्यक्ष बोहरालाई सम्मानपत्र हस्तान्तरण गरेको हो ।
गाउँपालिकाले पछिल्ला तीन वर्षमा पर्यटन विकासमा उल्लेखनीय प्रगति हासिल गरेको छ । आफ्नो ५ वर्षे आवधिक योजना, वार्षिक नीति तथा कार्यक्रम र १० वर्षे पर्यटन रणनीति अनुरूप अघि बढेको गाउँपालिकाले सुदूरपश्चिमको प्रमुख तथा देशकै सुन्दर गन्तव्यको रूपमा आफूलाई स्थापित गर्ने लक्ष्य लिएको छ ।
यसका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारका विभिन्न निकायसँग सहकार्य गर्दै आएको गाउँपालिकाले जनाएको छ ।
अपिहिमाल गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि योजनाबद्ध रूपमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । गाउँपालिकाले ‘अग्र्यानिक अपि’अभियान मार्फत कृषि पर्यटनलाई विशेष जोड दिएको छ ।
स्थानीय अग्र्यानिक उत्पादनहरूलाई बजारसँग जोडेर स्थानीयको जीविकोपार्जनमा टेवा पु¥याइएको छ । यसका साथै, पदयात्रा र हिमाल आरोहणलाई पनि गाउँपालिकाले प्राथमिकतामा राखेको छ ।
पर्यटन पूर्वाधार विकासमा समेत गाउँपालिकाले महत्त्वपूर्ण काम गरेको छ । नेपाल पर्यटन बोर्ड तथा युएनडिपीको जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनासँगको सहकार्यमा मकरीगाडमा पर्यटकीय सूचना केन्द्र स्थापना गरिएको छ । यस केन्द्रले पर्यटकहरूलाई सूचना प्रदान गर्नुका साथै स्थानीय उत्पादनहरूको बिक्री वितरणमा पनि सहयोग पु¥याइरहेको छ ।





