बैतडी –बैतडीको पुर्चौंडी नगरपालिकाले शुक्रबार (भोलि) सार्वजनिक बिदा दिएको छ ।
नगरपालिकाको वडा नं १ स्थित प्रसिद्ध राताशीला त्रिवेणी धाममा लाग्ने गिरेगडा कफलखाना जात्राको अवसरमा स्थानीय सार्वजनिक बिदा दिइएको नगरपालिकाले जनाएको छ ।
भोलि नगरपालिकाभित्रका सबै सरकारी तथा गैर सरकारी निकाय, शिक्षण संस्था लगायतमा सार्र्वजनिक बिदा रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बीरबहादुर नेपालीले बताए ।
गिरेगडा कफलखाना जात्रा हरेक बर्ष कार्तिक शुक्ल दशमीका दिन शुरु भइ कार्तिक शुक्ल एकादशी अर्थात हरिबोधनी एकादशीका दिन समापन हुने गर्दछ । गिरेगडा कफलखाना जात्रा भोलि शुरु हुने र पर्सी हरिबोधनी एकादशीका दिन समापन हुने पुर्चौंडी नगरपालिका वडा नं १ का वडा अध्यक्ष गणेशबहादुर गडालले बताए ।
जात्रामा विभिन्न ठाउँका दर्शनार्थीहरु पुग्ने गर्दछन् । यो जात्रामा गीर खेल्ने चलन रही आएको छ ।
गिरेगडा कफलखाना जात्राको अवसरमा आजदेखि देउडा प्रतियोगिता पनि शुरु भएको छ । प्रगतिशील युवा क्लबको आयोजना तथा पुर्चौंडी नगरपालिकाको प्रायोजनमा देउडा प्रतियोगिता सञ्चालन भएको हो ।
उक्त प्रतियोगितामा २६ जना देउडीयाहरुको सहभागिता रहेको वडा अध्यक्ष गडालले बताए ।





