Sagun Khabar
बैतडीको कालशैनी आधारभूत विद्यालयलाई कम्प्युटर र शैक्षिक सामग्री हस्तान्तरण 

बैतडी –बैतडीको पाटन नगरपालिका–६ स्थित कालशैनी आधारभूत विद्यालयलाई एक थान कम्प्युटर र शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । 

नेपाल मेड जर्मन संस्थाले विद्यालयलाई उक्त सामग्री मंगलबार हस्तान्तरण गरेको हो । विद्यालयका प्रधानाध्यापक चेतना पन्त, शिक्षक पुष्पा जोशी लगायतको आग्रहमा विद्यालयमा कम्प्युटर र शैक्षिक सामग्री उपलब्ध गराएको संस्थाका प्रतिनिधि महेन्द्रप्रसाद जोशीले बताए । 

आधारभूत विद्यालयका बालबालिकाहरुलाई पठनपाठन कार्यमा सहज होस भनेर आफूहरुले कम्प्युटर र शैक्षिक सामग्री उपलब्ध गराएको जोशीले बताए । 

नेपाल मेड जर्मन संस्थाले लामो समयदेखि सामाजिक र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको छ । उक्त संस्थाले गत बर्ष पाटनका विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । 

संस्थाले अहिले छोप्ने रोग अर्थात मास हिस्टेरियाविरुद्धको अभियान पनि सञ्चालन गरेको जोशीले बताए । सोही अभियान अन्तर्गत श्रीकृष्ण मावि पाटनमा अध्ययनरत छात्रछात्राहरुका लागि चार दिने सिर्जनात्मक कथा लेखन तालिम सञ्चालन गरेको उनले बताए । उक्त तालिम मंगलबार सम्पन्न भएको थियो । 

परामर्शदाता आर्यन जोशी, बरिष्ठ बाल साहित्यकार विजयराज आचार्य र लेखक तथा अध्येता महेन्द्रप्रसाद जोशीले कथा लेखन तालिममा सहजीकरण गरेका थिए । सिर्जनात्मक कथा लेखनका माध्यमबाट बालबालिकाहरुका मनमा भएको खुल्दुली मेटाउन सकिने भएकाले यो अभियान सञ्चालन गरिएको संस्थाले जनाएको छ । 

सिर्जनात्मक कथा लेखनका माध्यमबाट मास हिस्टेरिया लगायतका समस्या समाधान हुने अपेक्षा समेत गरिएको छ । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२  १७:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update